जेन-जीको प्रदर्शन हिंसात्मक बन्दै १० जनाको मृत्युभएपछि सरकारको आकस्मिक मन्त्रिपरिषद बैठक बस्दैछ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा साँझ ६ बजे मन्त्रिपरिषद बैठक बस्न लागेको हो । यसैबीच नेपाली कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारीको आकस्मिक बैठक डाकिएको छ । पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बोलाइएको बैठकमा जेनजी आन्दोलन र समाजिक सञ्जाल बन्दका विषयमा पार्टीको आधिकारिक धारणा सार्वजनिक हुने महामन्त्री विश्वप्रकाश शर्माले जानकारी दिनुभयो । उपत्यकामा उपलब्ध पार्टीका पदाधिकारी र पूर्वपदाधिकारीहरू बैठकमा आमन्त्रित छन् । महामन्त्रीद्वय शर्मा र गगन थापाले सभापति देउवालाई भेटेर समाजिक सञ्जाल बन्दको निर्णय तत्काल फिर्ताका लागि दबाब दिन आग्रह गरेका थिए । अब कांग्रेसले बैठकबाट निर्णय गरेरै सरकारलाई दबाब दिनेछ । यता रास्वपाले समेत आकस्मिक सचिवालय बैठक बोलाएको छ ।
यसैबीच नेकपा माओवादी केन्द्रले पनि आफ्नो अभियान स्थगित गर्दै बैठक बोलाएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जेनजी युवाहरूले उठाएका माग तत्काल पूरा गर्न सरकारसँग माग गर्नुभएको छ । मध्यपहाडी लोकमार्ग अभियानको क्रममा रहनुभएका अध्यक्ष प्रचण्डले जेनजीको माग पूरा गर्न आग्रह गर्नुभएको हो । उहाँले नयाँ बानेश्वरमा शान्तिपूर्ण प्रदर्शनको क्रममा प्रहरीले बल प्रयोग गरेकोमा पनि आपत्ति जनाउनुभएको छ । घाइतेप्रति शीघ्र स्वास्थ्य लाभको कामना गर्दै मृत्यु भएको विषयमा वास्तविकता बाहिर ल्याउन आग्रह गर्नुभयो । यता गोली लागेर प्रदर्शनकारीको मृत्यु भएपछि रास्वपाले आकस्मिक सचिवालय बैठक बोलाएको छ ।






