२०७२ को विनाशकारी भूकम्प होस् या कुनै पनि प्राकृतिक विपद्जन्य घटनाहरु । ‘हामी नेपाल’ नामक संस्थामार्फत् पीडितको आँसु पुछ्न पुग्ने सुधन गुरुङका लागि समाजसेवा नै राजनीतिको जग बन्यो । तर, उहाँको वास्तविक उदय भदौ २३ र २४ गतेको जेन-जी आन्दोलनबाट भयो । नेतृत्वविहीन भनिएको त्यो आन्दोलनलाई नागरिक सरकार गठनको दिशामा मोड्न गुरुङले खेलेको भूमिका नै आज उहाँलाई सिंहदरबार पुर्‍याउने मुख्य भर्‍याङ बनेको छ । जेन-जी आन्दोलनले खडा गरेको जगमा बनेको सरकारका गृहमन्त्री गुरुङले चुनौतीको सामना कसरी गर्नुहोला, यसले समग्र सरकारकै सफलता र असफलताको मूल्याङ्कन गर्नेछ।

जेनजी आन्दोलनसँगै भएको राजनीतिक उदय र विवाद सुधन गुरुङका प्रतिछायाँ बनिरहे । “संविधान फालौँ कि राखौँ” भन्ने अभिव्यक्ति र कतिपय ठाउँमा “म नेता हुँ” भन्ने जस्ता अभिव्यक्तिले उहाँको तीव्र आलोचना भयो । तर, आज गृह मन्त्रालयको कुर्सीमा बस्दै गर्दा ती सबै ‘कच्चापन’लाई सुधार्ने बाचा उहाँले गर्नुभएको छ। मन्त्रालयको स्वागत कार्यक्रममा बोल्दै उहाँले भन्नुभयो आफू गल्तीबाट सिक्दै सर्भिस डेलिभरी, भ्रष्टाचार नियन्त्रणमा मुख्यरूपमा काम गर्ने बताउनुभयो।

गृहमन्त्री गुरुङका अगाडि अहिले सबैभन्दा ठूलो चुनौती बनेर ‘जेनजी आन्दोलन जाँचबुझ आयोग’को प्रतिवेदन उभिएको छ । भर्खरै सञ्चारमाध्यममार्फत् सार्वजनिक भएको यो प्रतिवेदनमा पूर्वप्रधानमन्त्री, पूर्वगृहमन्त्री र पूर्वप्रहरी प्रमुखहरूलाई समेत कारबाहीको सिफारिस गरिएको छ। आफ्नै पूर्ववर्ती र शक्तिशाली पात्रहरूमाथि ‘एक्सन’ लिने साहस सुधनले देखाउन सक्नुहोला कि नसक्नुहोला ? यो सबैको चासोको विषय बनेको छ । गृहमन्त्रीलाई सफल बनाउने सन्दर्भमा आफूहरू सधैँ सँगै रहने गृहसचिव राजकुमार श्रेष्ठको भनाइ छ। चुनौती धेरै रहेको स्वीकार्दै गृहसचिव श्रेष्ठले यसको सामना मिलेर गर्ने बताउनुभयो।

जुन आन्दोलनको जगमा यो सरकार बन्यो, त्यही आन्दोलनका अगुवाहरूले भने गृहमन्त्री गुरुङलाई ‘सजग’ रहन सचेत गराउँछन्। सत्ताको मातले जनआन्दोलनको भावना नभुल्न उनीहरूको खबरदारी छ। शुभकामना दिँदै उनीहरू जेन-जी म्यान्डेटअनुसार काम गर्न सुझाउँछन् ।

गृहमन्त्री गुरुङका लागि मालदार भनिएको यो मन्त्रालय यतिबेला ‘काँडाको ओछ्यान’ जस्तै छ। जेन-जी जनादेशको गहकिलो शब्द उच्चारण गरिरहँदा उहाँले भ्रष्टाचारविरुद्ध चाल्ने कदम र कार्की आयोगको प्रतिवेदनमाथिको सक्रियताले नै उहाँको राजनीतिक भविष्य तय गर्नेछ। समाजसेवाको ‘सेन्टिमेन्ट’ बाट सत्ताको जजमेन्टसम्म आइपुग्दा उहाँले कति सन्तुलन कायम गर्नुहोला ? त्यो भने अबका केही महिनाले नै देखाउनेछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय