काठमाडौं । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा झापा क्षेत्र नम्बर ५ राजनीतिक रूपमा निकै चर्चामा आएको छ। लामो समयदेखि नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको बलियो क्षेत्र मानिँदै आएको यो स्थानमा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले प्रत्यक्ष प्रतिस्पर्धा गर्ने तयारी गरिरहेका छन्।यस विषयमा बालेनले बुधबार ललितपुरको ज्वागलमा झापाबाट आएका युवा तथा आफ्ना नजिकका सहयोगीहरूसँगको छलफलमा स्पष्ट धारणा राखेका छन्। उनले झापा–५ बाट उम्मेदवारी दिने निर्णयबाट पछि नहट्ने बताएका छन्।

यसअघि जेन–जी आन्दोलनसँग सम्बन्धित जेन–जी फ्रन्टका प्रवक्ता यतिश ओझाले झापा–५ बाट उम्मेदवारी दिने तयारी गरेका थिए। फ्रन्टले त्यहाँ सन्देशसभा समेत गरिसकेको थियो। तर ज्वागलमा भएको छलफलका क्रममा बालेनले आफू झापा–५ मा उम्मेदवार बन्ने निर्णय पक्का भइसकेको जानकारी दिएपछि ओझाले बालेनलाई समर्थन गर्दै झापा–४ बाट चुनाव लड्ने बताएका छन्। ज्वागलमा बालेनले ओझासँग मात्र नभई दिनभर विभिन्न कलाकार, सामाजिक अभियन्ता र राजनीतिक रूपमा सक्रिय व्यक्तिहरूसँग भेटघाट गरेका थिए। उनका सहयोगीहरूका अनुसार बालेनले आफ्नो टिमबाट चुनाव लड्ने सम्भावित उम्मेदवारहरूलाई तयारी थाल्न निर्देशन दिएका छन्। सोही अनुसार उनका प्रमुख स्वकीय सचिव भूपदेव शाह अछाममा तयारीमा जुटिसकेका छन् भने अन्य निकट सहयोगीहरू पनि विभिन्न क्षेत्रका लागि तयारी गरिरहेका छन्।

झापा–५ मात्र नभई अन्य निर्वाचन क्षेत्रहरूमा समेत आफ्ना विश्वासपात्रलाई उम्मेदवार बनाउने विषयमा छलफल भइरहेको बताइन्छ। यस क्रममा मधेस, कोशी र सुदूरपश्चिम क्षेत्रका राजनीतिक कार्यकर्ता तथा नेताहरूसँग बालेनको भेटघाट बाक्लिएको छ। एक निकट सदस्यका अनुसार बालेन हाल झापा–५ मा मतदाताको संख्या, प्रमुख दलहरूको प्रभाव क्षेत्र र सम्भावित चुनावी समीकरणबारे तथ्यांक संकलन गरिरहेका छन्। त्यसकै आधारमा रणनीति बनाउने काम भइरहेको छ। उनका अनुसार बालेनको सन्देश स्पष्ट छ—झापा–५ बाट पछि हट्ने कुनै सम्भावना छैन। बालेन प्रायः कुमार बेनको निवासमा बसेर कहिले निजी तवरले त कहिले सामूहिक रूपमा छलफल गर्ने गरेका छन्। उनका सहयोगीहरूका अनुसार मधेस र कोशी क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीको प्रभाव बढाउन छुट्टै रणनीति आवश्यक भएकाले त्यसमा पनि गहन छलफल भइरहेको छ। आगामी दिनमा अभियान निरन्तर रूपमा सञ्चालन गर्ने तयारी भइरहेको र माघ ६ गते झापा–५ मै पुगेर उम्मेदवारीसम्बन्धी गतिविधि अघि बढाइने बताइएको छ।

त्यसअघि पनि केही राजनीतिक गतिविधि देखिन सक्ने संकेत उनका सहयोगीहरूले दिएका छन्। बालेनले ज्वागललाई भेटघाटको केन्द्र बनाएपछि त्यहाँ राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय तहदेखि स्थानीय कार्यकर्तासम्मको उपस्थिति बाक्लिएको छ। ज्वागलका चिया पसलदेखि कुमार बेनको घर वरिपरि राजनीतिक गतिविधि र छलफलहरू बढ्दै गएको देखिन्छ, जहाँ सामाजिक अभियन्ता र कलाकारहरूको समेत उपस्थिति रहने गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय