राजधानीको ऐतिहासिक खुला क्षेत्र Tundikhel लाई हरियाली, स्वच्छ र व्यवस्थित सार्वजनिक स्थलका रूपमा विकास गर्ने काम तीव्र बनाइएको छ । काठमाडौं महानगरपालिकाले टुँडिखेल संरक्षण तथा सौन्दर्यीकरण अभियानलाई प्राथमिकताका साथ अघि बढाएको जनाएको छ । महानगरका अनुसार टुँडिखेल क्षेत्रमा हरियाली प्रवर्द्धन, वृक्षरोपण, पैदलमार्ग व्यवस्थापन, खुला व्यायामस्थल निर्माण तथा सार्वजनिक उपयोगका संरचना व्यवस्थित गर्ने काम भइरहेको छ । अव्यवस्थित पार्किङ, अनधिकृत संरचना तथा फोहोर व्यवस्थापनमा पनि कडाइ गरिएको छ ।
टुँडिखेललाई सबै नागरिकका लागि खुला, सुरक्षित र वातावरणमैत्री सार्वजनिक स्थल बनाउने लक्ष्यसहित दीर्घकालीन योजना कार्यान्वयन भइरहेको महानगरले जनाएको छ । विशेषगरी बिहान–बेलुका व्यायाम, हिँडडुल तथा मनोरञ्जनका लागि आउने नागरिकलाई सहज वातावरण उपलब्ध गराउने उद्देश्य राखिएको छ ।



हाल विभिन्न स्थानमा घाँस रोप्ने, फूलबारी विस्तार गर्ने, सडक बत्ती व्यवस्थापन गर्ने तथा सरसफाइ अभियानलाई निरन्तरता दिने काम भइरहेको छ । महानगरले टुँडिखेलको ऐतिहासिक तथा सांस्कृतिक महत्व जोगाउँदै आधुनिक सार्वजनिक खुला क्षेत्रका रूपमा विकास गर्ने योजना अघि सारेको छ ।स्थानीयवासी तथा सरोकारवालाले पनि टुँडिखेल संरक्षण अभियानलाई सकारात्मक रूपमा लिँदै अतिक्रमणमुक्त र हराभरा सार्वजनिक स्थल बनाउन दीर्घकालीन प्रतिबद्धता आवश्यक रहेको बताएका छन् ।



