गुडिरहेको मोटरसाइकलको पछाडि उभिएर उभिएको अवस्थामा भिडियो बनाएको दृश्य सामाजिक सञ्जालमा भाइरल भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का प्रतिनिधिसभा सदस्य बब्लु गुप्तालाई ट्राफिक प्रहरीले ५ सय रुपैयाँ जरिबाना गरेको छ। सिरहा–१ बाट निर्वाचित सांसद गुप्ता जिल्ला ट्राफिक प्रहरी कार्यालय, लहान पुगेर आफैंले जरिबाना बुझाएको प्रहरीले जनाएको छ। सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियोमा सांसद गुप्ता गुडिरहेको बुलेट मोटरसाइकलको पछाडि उभिएर मोबाइलबाट भिडियो खिचिरहेको देखिएका थिए। उक्त दृश्य सार्वजनिक भएसँगै सार्वजनिक पदमा रहेका व्यक्तिले नै ट्राफिक नियम उल्लंघन गरेको भन्दै व्यापक आलोचना भएको थियो। साथै, जनप्रतिनिधिलाई पनि सर्वसाधारणसरह कानुन लागू हुन्छ कि हुँदैन भन्ने प्रश्नसमेत उठेको थियो।

आलोचनापछि ट्राफिक प्रहरीले ट्राफिक नियम उल्लंघन गरेको कसुरमा गुप्तालाई ५ सय रुपैयाँ जरिबाना गरेको हो। कारबाहीपछि सामाजिक सञ्जालमा मिश्रित प्रतिक्रिया देखिएको छ। कतिपयले कानुन सबै नागरिकका लागि समान रूपमा लागू भएको भन्दै कारबाहीको स्वागत गरेका छन् भने केहीले यस्तो जोखिमपूर्ण कार्यका लागि ५ सय रुपैयाँको जरिबाना पर्याप्त नभएको टिप्पणी गरेका छन्।

घटनापछि सांसद गुप्ताले फेसबुकमार्फत आफ्नो गल्ती स्वीकार गर्दै क्षमायाचना गरेका छन्। उनले बाल्यकाल बिताएको ठाउँमा पुग्दा पुराना सम्झनाले भावुक बनाएको र रमाइलोको क्रममा मोटरसाइकलको पछाडि उभिएर भिडियो बनाउँदा ट्राफिक नियम उल्लंघन भएको महसुस गरेको उल्लेख गरेका छन्। साथै, आगामी दिनमा यस्ता गल्ती नदोहोर्‍याउने र आफ्नो ऊर्जा देश तथा जनताको सेवामा समर्पित गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन्। यसअघि हेलमेट नलगाई मोटरसाइकल चलाएका सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह र ट्राफिक नियम उल्लंघन गरेका श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ)लाई पनि ट्राफिक प्रहरीले जरिबाना गरेको थियो।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय