काठमाडौं । देशभर अहिले पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव कायम रहेको मौसमविद्हरूले बताएका छन् । हाल हिमाली क्षेत्रसँगै कोशी प्रदेशको तराईमा आंशिक बदली देखिएको छ भने अन्य धेरै स्थानमा मौसम सामान्यतया सफा रहेको अवस्था छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाले आज दिउँसो देशको मौसम मिश्रित रहने जनाएको छ । विशेषगरी कोशी प्रदेशसहित पहाडी तथा हिमाली भू–भागमा बदली हुनेछ ।
त्यस्तै, ती क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना रहेको छ । उच्च हिमाली भेगमा हल्का हिमपात समेत हुन सक्ने अनुमान गरिएको छ ।

यसैबीच बागमती, गण्डकी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका पहाडी र हिमाली क्षेत्रमा पनि आंशिक बदली रही कतिपय स्थानमा वर्षाको सम्भावना देखिएको छ ।

तराई क्षेत्रमा भने गर्मी क्रमशः बढ्दै जाने संकेत देखिएको छ । विशेषगरी लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका तराई भू–भागमा तातो लहर चल्न सक्ने पूर्वानुमान गरिएको छ । साथै मधेस प्रदेशसहित अन्य तराई र उपत्यका क्षेत्रमा पनि तापक्रम बढ्ने सम्भावना छ, जसले जनजीवनमा असर पार्न सक्छ ।

मौसमविद्हरूले तातो लहरका कारण स्वास्थ्यमा समस्या आउन सक्ने भएकाले आवश्यक सावधानी अपनाउन आग्रह गरेका छन् । विशेषगरी दिउँसोको समयमा बाहिर ननिस्कनु, प्रसस्त पानी पिउनु र अत्याधिक गर्मीबाट जोगिनु आवश्यक रहेको सुझाव दिएका छन् ।

आज राति भने देशका अधिकांश तराई क्षेत्रमा मौसम सफा रहने छ । पहाडी क्षेत्रमा आंशिक बदली कायम रहने र हिमाली क्षेत्रका केही स्थानमा हल्का वर्षा तथा हिमपात हुन सक्ने जनाइएको छ ।

समग्रमा, आजको मौसमले एकातिर तराईमा गर्मीको प्रभाव बढाउने र अर्कोतर्फ पहाड तथा हिमालमा वर्षा र हिमपातको गतिविधि देखाउने संकेत गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय