काठमाडौं । यमपञ्चक अर्थात् तिहारको औँसीको दिन भएपनि आज कुनै तिहारको पर्व परेको छैन । नेपाल पञ्चांग निर्णायक विकास समितिले नेपालीको दोस्रो ठूलो चाड औँसी बेलुकी भएका दिन गरिने लक्ष्मीपूजा बिहीबार नै गरिएकोले आज कुनै पर्व नभएको जनाएको छ ।
औँसीसहित कार्तिक शुक्ल प्रतिपदा भएका दिन गरिने गाई पूजा शनिबार परेको समितिको विज्ञप्तिमा उल्लेख छ । आज तिहारको कुनै पर्व नपरे पनि औँसी आफैँमा पर्व भएको समितिले जनाएको छ । औँसीमा विशेषगरी पितृकर्म हुनेगर्छ । यो वर्ष तिथिको घटबढले औँसीमा सूर्योदय भएको आजको दिन कुनै पर्व नपरेको जनाएको छ । तिथिका आधारमा यस्तो संरचना परेकैले पाँच दिनमा सकिने तिहार यो वर्ष थप एक दिन लम्बिएको छ ।



कार्तिक कृष्ण त्रयोदशीका दिन सुरु हुने तिहार यस वर्ष कात्तिक १३ गते मंगलबार सुरु भएको थियो । यो पर्व कार्तिक शुक्ल द्वितीयाका दिन कात्तिक १८ गते आइतबार दिदीबहिनीका हातबाट दाजुभाइ विधिपूर्वक परम्पराअनुसार पञ्चरंगी वा सप्तरंगी टीका लगाएपछि सकिन्छ ।
कात्तिक १७ गते शनिबार भने गाईगोरु पूजा, गोवर्द्धनपूजा, बलिपूजा, हलीतिहार, म्ह (आत्म) पूजा र नेपाल संवत् ११४५ प्रारम्भ पनि गरी छवटा पर्व एकै दिन परेको छ ।



