काठमाडौं । तिहारको दोस्रो दिन बिहान कुकुरको पूजा गरेर साँझ लक्ष्मीपूजा पूजा गरिंदै छ । पञ्चाङ्ग निर्णायक विकास समितिले २२ घडी २७ पला अर्थात् दिउँसो ३ बजेर १३ मिनेटसम्म चतुर्दशी तिथि रहेको जनाएको छ । त्यसपछि औँसी लाग्छ । समितिले शुक्रबार औँसी तिथि २७ घडी ३० पला अर्थात् अपराह्न ५ बजेर १५ मिनेटसम्म रहेको जनाएको छ ।
कुकुरपूजा



सनातन धर्ममा कुकुरलाई यमराजको दूत मानिएको छ । कार्तिक कृष्ण चतुर्दशीमा कुकुरको पूजा गर्दा यमलोक प्रवेशका क्रममा यमराजको ढोकामा द्वारपालका रूपमा बसेका ‘श्याम’ र ‘सबल’ नामका कुकुरले बाटो छोडिदिने विश्वास गरिन्छ ।
मानिसका लागि उपयोगी मानिएका जीवजन्तुलाई तिहारमा सम्मान गर्ने परम्पराअनुरूप कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुरको पूजा गर्ने विधान छ । यद्यपि प्रत्येक दिन बिहान भोजन तयार भएपछि काग र कुकुरलाई खान दिएर मात्र आफूले खानुपर्ने विश्वास रहेको छ । चतुर्दशीको बिहान झिसमिसेमा तारा नअस्ताउँदै शरीरमा तेल घसेर अपामार्गको बोटले शिर वरिपरि घुमाई स्नान गर्ने र ‘नरक जानु नपरोस’ भन्ने उद्देश्यले बत्ती नदीमा बगाउने विधान पुराणमा पाइन्छ । यो दिनलाई नरक चतुर्दशी वा ‘नर्के चतुर्दशी’ भनिन्छ ।
लक्ष्मीपूजा (दीपावली)
औँसीको साँझमा दीपावलीसहित धनकी देवी लक्ष्मीको पूजा गरिन्छ । यसलाई तिहारको सबैभन्दा महत्त्वपूर्ण दिन मानिन्छ । औँसीको रातमा लक्ष्मीको उत्पत्ति भएको दिनको रूपमा लिइन्छ ।
सफासुग्घर र उज्यालो भएका ठाउँमा लक्ष्मीको प्रवेश हुने विश्वास अनुरूप घरआँगन, कोठाचोटा सफासुग्घर पारी, लिपपोत गरिन्छ । यस्तै ढोका र झ्यालमा फूलका माला र मन्दिर तथा नदीमा तोरण टाँग्ने चलन छ । साँझ भएपछि आँगनदेखि पूजास्थलसम्म लक्ष्मीको पाइला बनाई दीपावली गरिन्छ । दीप–कलश–गणेशको पूजा गरी धनका देवता कुवेरसहित समृद्धिकी देवी लक्ष्मीको पूजा गरिन्छ । लक्ष्मीलाई प्रसन्न पार्न श्रीसुक्त पाठ गरिन्छ ।
यो दिन विधिपूर्वक पूजा गर्नाले लक्ष्मी खुशी भई धनधान्यले युक्त हुने, समृद्धि प्राप्त हुने विश्वास रहि आएको छ ।



