काठमाडौं । काठमाडौं महानगरपालिकाले तिहारमा विदेशबाट आयात गरिएको फूलमाला बिक्री वितरणमा रोक लगाएको छ । महानगर प्रहरी बलले आज पत्रकार सम्मेलन गरी नेपाली किसानलाई प्रोत्साहन गर्नका लागि विदेशबाट आयात गरिएका फूलमाला प्रतिबन्ध गराउने निर्णय गरेको जानकारी दिएको हो ।

पत्रकार सम्मेलनमा महानगर प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेले स्वदेशमा उत्पादित फूलको प्रयोगलाई बढाउनका लागि महानगरले आगामी कात्तिक १ देखि ६ गतेसम्म ३२ स्थानमा फूल बिक्री केन्द्र स्थापना गरेको जानकारी दिनुभयो ।
नेपाल चेम्बर अफ कमर्शका कृषि, वन तथा जडीबुटी समितिका सभापति कृष्णमान श्रेष्ठले स्वदेशी फूल स्वदेशमा प्रयोग गर्ने मुख्य उद्देश्यका साथ विगत तीन वर्षदेखि काठमाडौँ महानगरपालिकाको समन्वयमा नेपाली फूललाई प्रोत्साहन गरिँदै आएको बताउनुभयो ।

नेपाल फ्लोलिकल्चर एशोसिएसनका अध्यक्ष राजेशभक्त श्रेष्ठले कृषक र राज्यलाई समृद्ध बनाउनका लागि महानगरले लिएको नीतिलाई कार्यान्वयनका लागि एशोसिएसनले सहयोग गर्ने बताउनुभयो ।
नेपाली फूललाई प्रोत्साहन गर्नका लागि आगामी असोज २९ देखि कात्तिक २ गतेसम्म १८औँ गोदावरी फूल प्रतियोगिताको आयोजना गर्न लागेको पत्रकार सम्मेलनमा जानकारी गराईको थियो । एशोसिएसनले हाल काठमाडौं उपत्यकामा तिहारका लागि ४० लाख माला खपत हुने अनुमान गरेको छ । नेपालमा उत्पादित फूलले नेपालको बजार धान्नसक्ने एशोसिएसनको दाबी छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय