काठमाडौं । नेपाल मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिन देशभर मौसम प्रतिकूल रहने जनाएको छ । सोमबार अधिकांश भू–भागमा मौसम सामान्य रहने भएपनि तराईका केही स्थानमा कुहिरो र हुस्सु लाग्न सक्ने सम्भावना छ ।



रातिदेखि कर्णाली र सुदूरपश्चिमका पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली भई हल्का वर्षा वा हिमपात सुरु हुन सक्छ ।
मंगलबार पश्चिमी वायुको प्रभाव बढ्दा गण्डकी, कर्णाली र सुदूरपश्चिमका उच्च भू–भागमा बदली बढ्नेछ । पहाडी क्षेत्रमा मेघगर्जनसहित वर्षा र उच्च भू–भागमा हिमपातको सम्भावना रहेको छ । राति केही स्थानमा मध्यम वर्षा र हिमपात हुन सक्ने मौसमविद्हरूले बताएका छन् ।
बुधबार मौसम प्रणाली देशभर फैलिँदा पहाडी तथा हिमाली क्षेत्रमा मध्यम वर्षा वा हिमपात र तराईका धेरै स्थानमा हल्का वर्षा हुने अनुमान छ । रातिदेखि मौसम क्रमिक रूपमा सुधार हुने संकेत देखिएको छ ।
वर्षा र हिमपातका कारण यातायात र दैनिक जनजीवन प्रभावित हुन सक्ने भन्दै सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।



