तेह्रथुम । काठमाडौंलगायत देशका विभिन्न भागमा सञ्चालित तारे होटलमा सिस्नुको माग बढ्न थालेपछि तेह्रथुमका किसानले व्यावसायिक रूपमा सिस्नोखेती गर्न थालेका छन् । लालीगुराँस नगरपालिका–१ स्थित चैते सामुदायिक वनमा सिस्नोको व्यावसायिक खेती थालिएको हो । वन वरपरका निजी जग्गामा पनि सिस्नु रोपिएको छ । सामुदायिक वनको ३ सय ६५ हेक्टरमध्ये एक हेक्टरमा सिस्नुका बिरुवा लगाउने योजना समितिको छ ।
डिभिजन वन कार्यालयमार्फत प्रदेश सरकारको जडीबुटी विकास तथा व्यवस्थापन कार्यक्रमअन्तर्गत सामुदायिक वनले चालु आर्थिक वर्षमा १० लाख रुपैयाँ बराबरको सिस्नु प्रशोधन गर्ने मेसिन अनुदानमा प्राप्त गरेको छ ।



आगामी आर्थिक वर्षदेखि सिस्नु प्रशोधन गर्ने मेसिन जडान गरी लोकल, पात्ले र अल्लो जातका सिस्नुको धुलो अन्तर्राष्ट्रिय बजारमा पुर्याउने योजना रहेको सामुदायिक वनका अध्यक्ष इन्द्रबहादुर खड्का बताउनु हुन्छ ।
व्यावसायिक खेती गरी सिस्नुको धुलोको लेबलिङ र प्याकेजिङ गरेर अन्तर्राष्ट्रिय बजारमा पुर्याउने प्रयास भइरहेको लालीगुराँस नगरपालिकाका प्रमुख अर्जुनबाबु माबुहाङले बताउनुभयो ।



