सीमा विवादका कारण चर्किएको थाइल्याण्ड र कम्बोडियाबीचको तनाव साम्य पार्न शान्तिवार्ता सुरु भएको छ । मलेशियाको राजधानी क्वालालम्पुरमा थाइल्याण्डका कार्यवाहक प्रधानमन्त्री फुमथाम वेचायाचाई र कम्बोडियाका प्रधानमन्त्री हुन मनेटबीच वार्ता सुरु भएको हो । वार्ताको मध्यस्थता मलेशियाका प्रधानमन्त्री अनवर इब्राहिमले गरिरहेका छन् । दक्षिणपूर्वी एसियाली राष्ट्रहरूको संगठन ‘आशियान’को अध्यक्षका नाताले उनले आफ्नो निवासमै वार्ताको आयोजना गरेका हुन् ।



गत बिहीबारबाट सुरु भएको द्वन्द्व पाँचौँ दिनमा पुगेका बेला दुई देशका नेताहरू वार्तामा जुटेका हुन् । दुबै मुलुकले एक–अर्कामाथि द्वन्द्व सुरु गरेको आरोप लगाएका छन् । दुवै देशबीचको विवादको मुख्य कारण सीमा क्षेत्रमा रहेको एक पुरातात्विक हिन्दू मन्दिर हो, जसलाई लिएर लामो समयदेखि तनाब रहँदै आएको छ । पछिल्ला झडपमा हालसम्म ३५ जनाको ज्यान गइसकेको र २ लाख ६० हजारभन्दा बढी घाइते भएका छन् । हालसम्म दुवै देशले एक–अर्कासँगको राजनयिक सम्बन्ध कटौती गर्दै राजदूत फिर्ता बोलाएका छन् भने सीमा क्षेत्र बन्द गरिएको छ । यद्यपि क्वालालम्पुरमा वार्ता भइरहँदा पनि सीमा क्षेत्रमा संघर्ष जारी छ । कम्बोडियाको मियान्चे प्रान्तमा आइतबार गोलाबारीको आवाज सुनिएको समाचार संस्था एपीले जनाएको छ ।



