काठमाडौं । पश्चिम नेपालको तराई क्षेत्रमा बसोबास गर्ने थारू समुदायले आफ्नो मौलिक पर्व ‘अटवारी’ विशेष आस्था र हर्षोल्लासका साथ मनाउँदै छन् । माघीपछिको दोस्रो ठूलो पर्वका रूपमा लिइने अटवारी विशेषगरी पुरुषहरूले निराहार व्रत बसेर मनाउने गर्दछन् । हरेक वर्ष श्रीकृष्ण जन्माष्टमी पछिको दोस्रो आइतबार यो पर्व मनाइने गरिन्छ । आइतबार मनाइने हुनाले यो पर्वलाई ‘अटवारी’ भनिएको हो । यो पर्वमा दाजुभाइले दिदीबहिनीका लागि व्रत बस्ने गर्दछन् । अटवारी पर्वको धार्मिक महत्व महाभारतको कथासँग जोडिएको छ ।
थारू समुदायमा पाण्डव पुत्र भीमलाई वीरता र शक्तिको प्रतीकका रूपमा पुज्ने गरिन्छ । धार्मिक मान्यताअनुसार पाण्डवहरू अज्ञातबासमा रहँदा भीमले आफ्ना दाजुभाइ र परिवारको रक्षाका लागि आइतबारको दिन पानीसमेत नपिई निराहार व्रत बसेका थिए । त्यही व्रतको प्रभावले उनले अपार शक्ति प्राप्त गरेको जनविश्वास रहेको छ । यो पर्वमा सूर्यको पनि विशेष पूजा गरिन्छ । अटवारी पर्वको तयारीस्वरूप बर्तालुहरूले शनिबार राति खाना खाने चलन छ, यसलाई ‘भन्सरीया भात’ भनिन्छ । पूजापछि विभिन्न मौलिक परिकारहरू पकाइन्छ । जसमा अन्दीको चामलको रोटी अनिवार्य हुन्छ ।



पर्वको दोस्रो दिन अर्थात् सोमबार बिहानै बर्तालुहरूले पुनः स्नान गरी पूजा गर्छन् । सोमवार पूजाआजा गरेपछि व्रत खोलिन्छ । त्यसपछि दाजुभाइले आफ्ना दिदीबहिनीका लागि छुट्याइएको ‘अग्रासन’ र अन्य कोसेली लिएर उनीहरूको घर पुग्छन् । दिदीबहिनीले दाजुभाइलाई आशीर्वाद दिन्छन् र दाजुभाइले ल्याएको प्रसाद ग्रहण गर्छन् । अटवारी पर्वले थारू समुदायमा सामाजिक एकता र पारिवारिक सम्बन्धलाई बलियो बनाउन महत्त्वपूर्ण भूमिका खेलेको छ । यो पर्व कैलाली, कञ्चनपुर, बाँके, बर्दिया, सुर्खेत र दाङलगायत जिल्लामा बसोबास गर्ने थारू समुदायले धुमधामका साथ मनाउने गर्दछन् ।
सुदूरपश्चिम प्रदेश सरकारले आज प्रदेशभर सार्वजनिक बिदा दिएको छ ।



