काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको अभिव्यक्ति सत्ता बाहिर निस्किएपछिको पीडामात्र भएको बताउनुभएको छ ।
पार्टीको पोलिटब्यूरो बैठकमा अध्यक्ष ओलीले श्रीलंका र बंगलादेश हुन्छ भन्ने दाहालको अभिव्यक्तिमा आपत्ति जनाउनु भयो । ओलीले नेपाल कुनै पनि देशको फोटोकपी मेसिन नभएको भन्दै दाहालको अभिव्यक्तिको खण्डन गर्नुभयो ।



बैठकमा महासचिव शंकर पोखरेलले निर्णायक राष्ट्रिय शक्ति निर्माणका सन्दर्भमा वार्षिक कार्ययोजना प्रस्तुत गर्नुभयो । वार्षिक कार्ययोजनामा पार्टीको सदस्यता नवीकरण, विस्तार, अभिलेखीकरण, पार्टी कमिटीका नियमित अधिवेशन, पार्टी कमिटीको मूल्याङ्कनलगायत समावेश छन् । बैठकको कार्ययोजनामा पार्टी प्रवेश गरेकालाई तीन महिनाभित्र कमिटीमा जिम्मेवारी दिइने, पार्टीको केन्द्रमा एक र सातै प्रदेशमा पार्टी स्कूलका स्थायी संरचना खडा गर्ने, अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्ने समेत उल्लेख रहेको छ ।



