खोटाङ जिल्लाको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराईले संघीय कानुनको असंगत व्यवस्थाविरुद्ध काठमाडौंमा सत्याग्रह सुरु गरेका छन्। माइतीघर मण्डलामा शुक्रबारदेखि सुरु भएको सत्याग्रहमार्फत मेयर भट्टराईले स्थानीय कच्चा पदार्थको उपयोगमा आएको कानुनी अवरोध हटाउन माग गरेका हुन्। उहाँले संघीय ऐन संशोधन गरी स्थानीय तहलाई आत्मनिर्भर विकासको अधिकार सुनिश्चित गर्नुपर्ने माग गर्दै कपाल मुण्डन गरी सेतो वस्त्रमा परालको गुन्द्रीमाथि कम्बल ओछ्याएर शान्तिपूर्ण विरोध सुरु गरेका छन्।



मेयर भट्टराईका अनुसार स्थानीय क्षेत्रको ढुंगा, गिटी, बालुवा, माटोजस्ता स्रोत प्रयोग गर्न संघीय कानुनले रोक लगाएपछि विकास निर्माणमा अवरोध उत्पन्न भएको छ। “पैसा छैन, नीति देउ – आत्मनिर्भर समाज बनाऔं” भन्ने नारासहित उहाँले स्थानीय तहको अधिकार सुनिश्चित गर्न ऐन संशोधनको माग राखेका छन्।
सत्याग्रह स्थलमा राखिएका प्लेकार्डहरूमा प्रकृतिको विनास हैन, संरक्षण गरौ जलवायु परिवर्तनको असर – खोला खोल्सी अनियन्त्रित क्रसर, प्रकृतिको पूजा गरौं, प्राणीको अस्तित्व जोगाऔं लगायतका नारा लेखिएका छन्। यसले मेयर भट्टराईको आन्दोलन केवल कानुनी संशोधन नभई, दीर्घकालीन वातावरणीय तथा नीतिगत सुधारप्रति पनि लक्षित रहेको देखाउँछ।
सिंहदरबार जान खोज्दा रोक
सत्याग्रह सिंहदरबारको दक्षिण गेट अगाडि सुरु गर्ने तयारी रहे पनि त्यहाँ निषेधित क्षेत्र तोकिएकाले उहाँ माइतीघर मण्डलामा बसेका छन्। अहिले उहाँको सत्याग्रह शान्तिपूर्ण रूपमा जारी छ भने समर्थकहरूले सामाजिक सञ्जालमार्फत ऐक्यबद्धता जनाएका छन्।



