काठमाडौं । गत वैशाखदेखि साउनको ३१ गतेसम्म देशभर कुल २ हजार ८ सय ५३ वटा विपद्का घटना घटेका छन् । ती घटनामा परेर १ सय २६ जनाको निधन भएको छ भने ५ सय ८५ जना घाइते भएका छन् ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले विपद्मा परेर २३ जना बेपत्ता हुँदा ४ हजार ४१ परिवार प्रभावित भएका छन् । देशभर बाढीका २ सय १६, पहिरोका ३ सय १७, भारी वर्षाका २ सय २१, चट्याङका २ सय ४५, सर्पदंशका ७७ घटना घटेका छन् ।



यस्तै आगलागीबाट १ हजार १ सय १४, डढेलोका १ सय ५८, हुरीबतासबाट २ सय ७७, जनावर आक्रमणका १ सय ७२, लेक लागेको ४६, भूकम्पका ५, डुङ्गा पल्टेर २, असिना, हुरी र अन्य घटनाका १–१ वटा विपद्का घटना घटेका छन् ।
प्राधिकरणले साउन ३१ गते मात्र आगलागी ७, बाढी १, पहिरो ८, अविरल वर्षा ४, जनावर आक्रमणका ३ घटना घटेको छ । विपद्मा परेर १ जनाको ज्यान गएको छ । अनुमानित क्षति ३८ लाख ४० हजार रुपैयाँ बराबर भएको छ ।
विपद्बाट प्रभावितको खोज, उद्धार र राहतका लागि १ सय ४० प्रहरी परिचालन गरिएको छ ।



