धनकुटा –  धनकुटामा ट्रकमा लुकाइछिपाइ ओसारपसार गरिएको ६ सय ४७ किलोग्राम गाँजासहित दुई जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ। बिहीबार बिहान साँगुरीगढी गाउँपालिका–६ भेडेटारस्थित कोशी लोकमार्गमा विराटनगरतर्फ जाँदै गरेको ना. ३ ख ५०९५ नम्बरको ट्रक जाँच गर्ने क्रममा ४८ वटा पोकामा प्याक गरी राखिएको गाँजा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ।

पक्राउ पर्नेमा ट्रक चालक मकवानपुरको कैलाश गाउँपालिका–३ का २७ वर्षीय उमेश थिङ र सहचालक धनकुटाको सहिदभूमि गाउँपालिका–१ का ३६ वर्षीय तुलराम राई रहेका छन्। जिल्ला प्रहरी कार्यालय धनकुटामा आयोजित पत्रकार सम्मेलनमा प्रहरी उपरीक्षक नारायण रञ्जितकारले बरामद गाँजाको तौल ६ सय ४७ किलोग्राम रहेको जानकारी दिए।

प्रहरीका अनुसार पक्राउ परेका दुवै जनाविरुद्ध लागूऔषध सम्बन्धी कसुरमा मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको छ। यसैबीच प्रहरीले साउन १३ देखि २० गतेसम्म जिल्लाका विभिन्न स्थानमा ४३ रोपनी क्षेत्रफलमा लगाइएको १९ हजार १ सय ५० बोट गाँजा नष्ट गरेको जनाएको छ। त्यस्तै साउन १२ गतेयता पाँच जनालाई लागूऔषध ट्याब्लेट र गाँजासहित पक्राउ गरिएको प्रहरीले जनाएको छ। सो अवधिमा १ हजार ४ सय ५१ किलोग्राम गाँजा, ट्रामाडोल र अन्य प्रतिबन्धित औषधिका १ हजार ५ सय ८० भन्दा बढी ट्याब्लेट बरामद गरिएको छ। गाँजा ओसारपसारमा प्रयोग भएको ट्रक तथा केही मोबाइलसमेत नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय