काठमाडौं । आज असार १५ । २२औं राष्ट्रिय धान दिवस ‘धान बालीमा खाद्य सुरक्षा र आत्मनिर्भरता’ नाराका साथ मनाइँदै छ । किसानका लागि असार १५ वर्षभरिकै मुख्य दिन हो । धान नेपालको मुख्य खाद्यबाली हो । नेपालमा उपभोग हुने कुल खाद्य कृषि बालीमध्ये धानले करिब ८० प्रतिशत हिस्सा ओगटेको भनिए पनि धानचामल आयातको तथ्यांक भने डरलाग्दो छ ।
चालु आर्थिक वर्षकको ११ महिनामा झण्डै ३९ अर्ब रुपैयाँको धानचामल आयात भएको भन्सार विभागले जनाएको छ ।नेपालमा वार्षिक करिब ७० लाख मेट्रिक टन धानको माग छ । यसमध्ये १० लाख मेट्रिक टन धान अपुग हुने गरेको छ । वार्षिक १२ देखि १५ लाख मेट्रिक टन बराबरको धानचामल नेपालमा आयात हुने गरेको छ ।



काठमाडौं उपत्यकाको माटो खेतीका लागि निकै उर्भर भए तापनि काठमाडौंका स्थानीय निकायले खेती योग्य जमीन नभनी आवासीय मात्र भएको उल्लेख गरेपछि अहिले धान फल्ने खेतको खण्डीकरण र अव्यवस्थित सहरीकरणले धान चामलको आयात झनै बढेको देखिन्छ । गाउँघरबाट काठमाडौं उपत्यका बसाइ सर्ने क्रम बढेसँगै खेती योग्य जमीन बाँझो हुन थालेको छ ।



