काठमाडौं, ७ असोज — नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका पूर्वमन्त्री टोपबहादुर रायमाझी फेरि कारागार फर्किएका छन्। प्रदर्शनका क्रममा २४ भदौमा सुन्धारास्थित केन्द्रीय कारागारबाट बाहिरिएका रायमाझी दुई साता पछाडि मंगलबार पुनः स्वेच्छिक रूपमा कारागार फर्किएका हुन्। कारागार स्रोतका अनुसार रायमाझीसँगै त्यही प्रकरणमा पक्राउ परेका तत्कालीन सचिव टेकनारायण पाण्डे भने अहिलेसम्म फर्किएका छैनन्।
गत २४ भदौमा राजधानीसहित देशभर फैलिएको जेनजी आन्दोलनका बेला करिब १४ हजारभन्दा बढी कैदीबन्दी कारागारबाट निस्किएका थिए। तीमध्ये करिब आधाजसो कैदीबन्दी अहिलेसम्म फर्किसकेका छन्। एक्लै सुन्धारा कारागारबाट मात्रै ३३ सयभन्दा बढी कैदीबन्दी निस्किएका थिए। रायमाझी नक्कली भुटानी शरणार्थी बनाइ अमेरिकी आप्रवासन प्रक्रियामा संलग्न गराउने गिरोहमा संलग्न भएको आरोपमा पक्राउ परेका थिए। काठमाडौं जिल्ला अदालतको आदेश अनुसार उनी पुर्पक्षका लागि थुनामा थिए।






