काठमाडौं । चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीले आफ्नो नगरभित्र रहेका मौलिक संस्कार र परम्परालाई देश बाहिरसम्म परिचित गराउन सके स्थानीय तहको पहिचान अझ मजबुत बन्ने बताउनु भएको छ ।



चन्द्रागिरिको नवरस संगीत पाठशालाले आयोजना गरेको वनभोज कार्यक्रममा प्रमुख गिरीले पछिल्लो समय परम्परागत नृत्य तथा संस्कृतिहरू लोप हुने जोखिममा रहेको उल्लेख गर्दै तिनको संरक्षणका लागि सबै पक्षले चासो दिनुपर्ने आवश्यकता औंल्याउनुभयो ।

चन्द्रागिरिको दहचोक ईन्द्रस्थानमा भएको कार्यक्रममा पाठशालाकी सिर्जना राजवाहकले श्री पचली भैरव १२ वर्षे खड्गसिद्धी र यहाँ हुने नृत्यबारे गरेको सोधपत्र (एमफिल) को एकप्रति प्रमुख गिरीलाई पनि बुझाइएको थियो । सोधपत्र बुझ्दै प्रमुख गिरीले यस्तो अनुसन्धानले हराउँदै गएका परम्पराहरूलाई जगेर्ना गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले नयाँ पुस्ताले आफ्नो मौलिक संस्कृति र परम्परागत नृत्यबारे जानकारी पाउने वातावरण सिर्जना गर्न यस्ता अध्ययन आवश्यक रहेको धारणा पनि राख्नुभयो । प्रमुख गिरीले “लोप हुन लागेका संस्कार र नृत्यलाई संरक्षण गर्न अनुसन्धानमूलक कामहरू अपरिहार्य रहेको बताउँदै नगरपालिका यस्ता प्रयासलाई प्रोत्साहन र आवश्यक सहयोग गर्न तयार रहेको पनि बताउनुभयो ।

कार्यक्रममा सहभागीहरूले नेपाली मौलिक संस्कार, संस्कृति तथा परम्परागत नृत्यको संरक्षण र प्रवद्र्धनमा जोड दिएका थिए । कार्यक्रममा नवरस संगीत पाठशालाका प्रशिक्षार्थी, प्रशिक्षक, अभिभावक तथा सांस्कृतिक क्षेत्रमा आबद्ध व्यक्तिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । यसैगरी, वरिष्ठ नृत्य निर्देशक राजु शाहको उपस्थिति पनि कार्यक्रमको आकर्षणका रूपमा रहेको थियो ।

शाहको सहभागिताले कार्यक्रमलाई थप प्रेरणादायी र गरिमामय बनाएको आयोजकले जनाएको छ । कार्यक्रमले नेपाली मौलिक संस्कृति, परम्परा र नृत्यलाई जोगाउँदै नयाँ पुस्तामा हस्तान्तरण गर्ने आवश्यकताबारे महत्वपूर्ण सन्देश प्रवाह गरेको आयोजकको विश्वास छ ।



