काठमाडौं । नवरात्रको सातौँ दिन भएपनि बुधबार नवदुर्गामध्येकी कात्यायनीको पूजा आराधना गरिँदैछ । दिनका हिसाबले बुधबार नवदुर्गा मध्येकी कालरात्रि देवीको आराधना गरिनुपर्ने हो । नेपाल पञ्चाङ्ग​ निर्णायक विकास समितिले यो वर्ष नवरात्रमा चतुर्थी तिथि दुई दिन परेकाले षष्ठी तिथिमा गर्ने कर्म बुधबार गर्नु पर्ने जनाएको हो ।

पञ्चाङ्गको पात्रो अनुसार बुधबार षष्ठी तिथि ३ घडी ५१ पला मात्र षष्ठी छ । अर्थात् बिहान ७ बजेर ३३ मिनेटपछि सप्तमी तिथि लाग्छ । सूर्योदय हुँदाको तिथि लिनुपर्ने मान्यताअनुरूप बुधबार षष्ठीकै कर्म गर्नुपर्ने समितिले बताएको छ । नवरात्रमा प्रत्येक दिन नवदुर्गाका एक–एक स्वरूपको आराधना गर्ने परम्परा छ । त्यसैअनुरूप षष्ठी तिथिमा कात्यायनीको पूजा–आराधना गरिन्छ । षष्ठी तिथिमा बेलको रुखनजिक गएर ‘बिल्व निमन्त्रण’ गर्ने विधि पनि छ । यो बेलको पत्र सप्तमी तिथिमा दशैँघरमा भित्र्याइने फूलपातीमा समावेश गरिन्छ । मिथिला लगायतका श्रद्धालुले यो विधि मंगलबार नै गरिसकेका छन् । त्यसैले कतिपयले त बुधबार नै फूलपाती भित्र्याउँदैछन् ।

पुराणअनुसार कात्यायनको ऋषिको कठोर तपस्याबाट प्रसन्न भएकी भगवतीले उनलाई पुत्रीको रूपमा जन्म लिने वचन दिएकी थिइन् । महिषासुर नामक दैत्यको विनाशका लागि ब्रह्मा, विष्णु र महेश्वरको अंशबाट देवी उत्पन्न भइन् । यिनै कात्यायन ऋषिद्वारा पुजित भएकीले यिनको नाम कात्यायनी भएको हो ।

सिंहवाहिनी कात्यायनीले महिषासुरको वध गरेको दुर्गा सप्तशतीमा आउँछ । चार हातमध्ये दुई हातमा तरवार, कमल पुष्प लिएकी र दुई हातले अभय र वरद मुद्रा प्रदर्शन गरेकी छिन् । कात्यायनीको आराधनाबाट सम्पूर्ण संकट नाश हुने विश्वास छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय