काठमाडौं । काठमाडौं भित्रने प्रमुख नाका नागढुंगा देखि कलंकीसम्म सडकको बीच भागमा रहेको डिभाइडरमा दुबो रोप्न थालिएको छ ।

चन्द्रागिरि नगरपालिकाको वातावरण तथा विपद् व्यवस्थापन समितिको संयोजनमा सडक डिभाइडरमा दुबो रोप्न थालिएको हो । डिभाइडरमा ३ वर्ष अघि रुख रोपिएको र रुखको वरिपरि वर्षैपिच्छे घाँस उम्रिदा सडकको सौन्दर्य घटेपछि सौन्दर्यीकरणका लागि दुबो रोपिएको हो । समितिका संयोजक तथा वडा नम्बर ६ का अध्यक्ष संजय सिग्देलले नगरभित्र रहेका विभिन्न संघसंस्थाको सहकार्यमा पहिलो पटक यो कार्यको थालनी गरिएको बताउनु भयो

मातातीर्थ खानेपानी तथा सरसफाइ उपभोक्ता समितिसँगको सहकार्यमा दाउरा डिपो क्षेत्रको सडक डिभाइडरमा ११ सय वर्गफिट दुबो रोपिएको हो । सडक सौन्दर्यताका लागि स्थानीय निकाय मात्र नभई नगर भित्र रहेका विभिन्न संघसंस्थालाई पनि जनउत्तरदायी बनाउने उद्देश्यले यो कामको सुरुवात गरिएको संयोजक सिग्देल बताउनु हुन्छ । उहाँले तत्कालै अर्को संस्थासंग सहकार्य गरी थप ११ सय वर्गफिट दुबो रोप्ने तयारी भैरहेको जानकारी गराउनु भयो ।

संयोजक सिग्देलले नगर क्षेत्र भित्र पर्ने नागढुंगा देखि ढुंगेअड्डासम्मको सडक डिभाइडरमा आगामी भदौ मसान्तसम्म दुबो रोपिसक्ने योजना रहेको बताउनु भयो । उहाँले नगरको यो योजना सफल बनाउन नगरबासी र संघसस्थालाई सहयोग गर्न पनि आग्रह गर्नुभयो । योजनाले सडकको सौन्दर्यतामा दिगोपन र संरक्षण हुनेमा संयोजक सिग्देलको विश्वास रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय