काठमाडौ । निर्वाचन अधिकृतको कार्यालय, काठमाडौं निर्वाचन क्षेत्र नं. ९ ले सर्वपक्षीय छलफल गरेको छ । चन्द्रागिरि नगरपालिका वडा नं. १२ स्थित नगरपालिका प्राङ्गणमा रहेको कार्यालयले आज निर्वाचन आचार संहिता, माघ ६ गतेको उम्मेदवारी मनोनयन लगायतका विषयमा राजीनितक दलका प्रतिनिधि, सुरक्षाकर्मी, सञ्चारकर्मीहरुसँग छलफल गरेको हो ।



छलफलका क्रममा काठमाडौं निर्वाचन क्षेत्र नं. ९ का निर्वाचन अधिकृत मनुका घिमिरेले भोलि हुने उम्मेदवार मनोनयका बारेमा जानकारी गराउनु भएको थियो । घिमिरेले उम्मेदवारी दर्ता प्रक्रिया शान्तिपूर्वक, पारदर्शी, निष्पक्ष र कानुनसम्मत र सरोकारवालाबीच साझा समझदारी गरी निर्वाचन सफल बनाउन सबैमा आग्रह गर्नुभयो । निर्वाचन ऐन, निर्वाचन आचारसंहिता २०८२ पालना गर्नु सबैको दायित्व भएको बताउँदै घिमिरेले उम्मेदवारी मनोनयन प्रक्रियालाई सहज र सरलरुपमा सम्पन्न गर्न गराउन पनि आग्रह गर्नुभयो ।
छलफलका क्रममा राजनीतिक दलका प्रतिनिधिहरुले उम्मेदवार मनोनयनबारे विभिन्न जिज्ञासा राखेका थिए भने मनोनयन प्रक्रियालाई सभ्य र भव्य बनाउन सहयोग गर्ने प्रतिबद्धता समेत जनाएका छन् ।
आगामी फागनु २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचन आयोगले भोलि अर्थात् माघ ६ गते उम्मेदवारी मनोनयनको कार्यतालिका सार्वजनिक गरेको छ । उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने समय विहान १० बजेदेखि साँझ ७ बजेसम्म तोकिएको छ । कार्यालयका अनुसार भोलि नै साँझ ५ बजेदेखि ७ बजेसम्म उम्मेदवारीको सूची प्रकाशन हुनेछ भने ७ गते विहान १० बजेदेखि ३ बजेसम्म उम्मेदवारको विरोधमा उजुरी दिनसकिने व्यवस्था गरिएको छ । मनोनयन पत्र र उजुरी उपर जाँचबुझ गरी माघ ८ गते साँझ ५ बजेसम्म निर्णय हुने निर्वाचन कार्यालयले जानकारी दिएको छ । यस्तै, ८ गते उम्मेदवारीको नामावली प्रकाशन हुनेछ भने ९ गते विहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारको नाम फिर्ता लिन सकिने छ । उम्मेदवारको अन्तिम नामावली माघ ९ गते दिउँसो १ बजेबाट ३ सम्म प्रकाशन हुनेछ । सोही दिन अपरान्ह ४ बजेदेखि ९ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गरिने निर्वाचन कार्यालयले जानकारी दिएको छ ।
निर्वाचन आचारसंहिता २०८२ बमोजिम उम्मेदवार मनोनयनका क्रममा एक प्रस्तावक, एक समर्थक अनिवार्य रहनुपर्ने व्यवस्था छ । मनोनयनका क्रममा २५ जनाभन्दा बढी उपस्थित हुन नपाउने पनि उल्लेख गरिएको छ ।



