काठमाडौं । नेपाली संगीत र नृत्य परम्परालाई संरक्षण गर्दै नयाँ पुस्तामा हस्तान्तरण गर्ने उद्देश्यसहित नवरस संगीत पाठशालाले पाँचदिने विशेष नृत्य कार्यशाला आयोजना गर्ने भएको छ ।

कार्यशालामा परम्परागत, मौलिक तथा आधुनिक नृत्यका विविध आयामहरूलाई समेट्दै सहभागीहरूलाई सैद्धान्तिक र व्यावहारिक दुवै पक्षमा गहिरो ज्ञान प्रदान गरिने आयोजकले जनाएको छ । साथै, नृत्य शास्त्रको आधारभूत अध्ययनमार्फत नृत्यलाई केवल मनोरञ्जनका रूपमा होइन, एक गम्भीर अध्ययन र अभ्यासको विधाका रूपमा बुझाउने प्रयास गरिनेछ ।

आयोजकले नेपाली संगीत र नृत्य केवल कला अभिव्यक्तिको माध्यम मात्र नभई हाम्रो पहिचान, इतिहास र सामाजिक जीवनसँग जोडिएको महत्वपूर्ण सम्पदा भएको बताएको छ । बदलिँदो समयसँगै आधुनिकताले स्थान लिँदै गर्दा मौलिक कला ओझेलमा पर्ने जोखिम बढिरहेको सन्दर्भमा यस्ता कार्यक्रमहरूले संस्कृति संरक्षणमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ ।

कार्यशालाले विशेषगरी युवा पुस्तालाई लक्षित गरेको छ । चन्द्रागिरि नगरपालिका भित्र रहेका शिक्षक, शिक्षिका, विद्यार्थीहरू तथा हालै एसईई परीक्षा दिएका युवाहरूलाई सहभागी भई आफ्नो सिर्जनशीलता र सांस्कृतिक चेतनालाई अझ समृद्ध बनाउन आह्वान गरिएको छ । यसले प्रतिभा पहिचान, सीप विकास र भविष्यमा पेशागत रूपमा नृत्य क्षेत्रमा अघि बढ्न प्रेरणा दिने अपेक्षा गरिएको छ ।

नृत्य र संगीतले पर्यटन प्रवद्र्धनमा समेत महत्वपूर्ण योगदान पुर्याउने तथ्यलाई ध्यानमा राख्दै आयोजकले यस्ता गतिविधिहरूले स्वदेशी तथा विदेशी पर्यटक आकर्षित गर्न मद्दत पुग्ने जनाएको छ । कला र संस्कृतिको जगेर्ना गर्दै आर्थिक र सामाजिक विकासमा समेत टेवा पुर्याउने लक्ष्यसहित कार्यक्रमको थालनी गरिएको हो ।

आयोजकले यस कार्यशालाबाट सहभागीहरूले प्रत्यक्ष रूपमा सीप र ज्ञान हासिल गर्नेछन् भने अप्रत्यक्ष रूपमा सांस्कृतिक चेतना विस्तार, आत्मविश्वास वृद्धि र सामुदायिक एकता सुदृढ हुने अपेक्षा गरिएको छ ।

नेपाली संगीत र नृत्यको यथार्थ बुझ्दै त्यसप्रतिको मोह अझ गहिरो बनाउने लक्ष्यसहित आयोजना गरिएको यो कार्यशाला, स्थानीय स्तरमै कला विकासको सशक्त पहलका रूपमा हेरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय