वामदेव गौतम औपचारिक रुपमा नेकपा एकीकृत समाजवादी पार्टीमा समाहित हुनुभएको छ । साढे तीन वर्षअघि नेकपा एकता राष्ट्रिय अभियान घोषणा गरेर दुई वर्षअघि सोही अभियानलाई पार्टीका रुपमा निर्वाचन आयोगमा दर्ता गर्नुभएका गौतमले एकीकृत समाजवादीसँग एकता गर्नुभएको हो । उहाँको समूहसँग गरिएको एकतालाई एकीकृत समाजवादीका नेताहरुले भने वाम एकताको सुरुवातका रुपमा लिएका छन् ।

पत्नी तुलसा थापा र छोरा हरिषदेव गौतमसमेत केन्द्रीय सदस्य रहेको नेकपा राष्ट्रिय एकता अभियानलाई वामदेव गौतमले शुक्रबार नेकपा एकीकृत समाजवादी पार्टीमा मिसाउनुभयो । नेकपा नफुट्दै २०७७ सालमा नेकपा एकता राष्ट्रिय अभियान घोषणा गरेर दुई धारमा विभाजित नेताहरुलाई एक ठाउँमा ल्याउने असफल प्रयास गरेका गौतम पछिल्ला ४ वर्ष अलमल र अन्योलमा रहनुभयो । यो ४ वर्षमा एकता अभियान र त्यसैलाई पार्टी बनाएर पछिल्ला दुई वर्ष यता पार्टी अध्यक्षकै रुपमा रहेका गौतमले राष्ट्रिय सभागृहको कार्यक्रम हलमा उभिएर सम्बोधन गर्दैगर्दा पार्टी एकता भएको भन्न विर्सनुभयो र भन्नुभयो, एकीकृत समाजवादीमा म एक्लै आएको छैन । नेपालको कम्युनिष्ट आन्दोलनमा लामो समय व्यतित गरेका ७७ वर्षीय गौतमले आफैले सुनाउनुभयो, ७ वर्षको उमेरमा कम्युनिष्ट पार्टीको झण्डा छोएको अनुभव, अनि त्यसयताको निरन्तरतको सक्रियता । अहिले गौतमलाई उस्तै-उस्तै उमेरका पूर्वसहकर्मी माधव नेपाल र झलनाथ खनाल लगायतका नेताहरुले पार्टीमा स्वागत गरे, अंगालो मारे ।

एकीकृत समाजवादीमा भएको गौतमको विलय अंक र एजेण्डाको हिसाबले कुनै ठूलो घटनाक्रम होइन । तर एकीकृत समाजवादीका नेताहरु भने यसलाई वाम एकताको जगका रुपमा महसुस गरेको देखिन्छ । एमाले अध्यक्ष केपी शर्मा ओलीसँग सदावहार कृतघ्न माधव कुमार नेपाल वाम एकताका विषयमा सार्वजनिक कार्यक्रमहरुमा त्यतिधेरै बोल्नु हुन्न । किनकी वाम भन्ने शव्दले एमालेलाई छुन्छ भन्ने लाग्छ उहाँलाई । तर गौतमलाई पार्टीमा भित्र्याउँदा भने उहाँले वाम एकताको प्रसंग निकाल्नुभयो । अर्का सम्मानित नेता झलनाथ खनाल वाम एकताको औचित्य र सान्दर्भिकताबारे बोलिरहनुहुन्छ । एक दिन न एक दिन एमालेसँग एकै ठाउँमा हुनुपर्छ भन्ने अठोट बोकिरहनुभएका खनालले आजको सबैभन्दा ठूलो आवश्यकता नै वाम एकता भएको सुनाउनुभयो ।

उमेरको उत्तरार्धमा गौतमले गरेको एकीकृत समाजवादी पार्टीको यात्रा वा पूर्वसहकर्मीहरुको भेटले वाम एकताको पक्षमा सानै भए पनि सकारात्मक सन्देश दिएको शुभेच्छुकहरुको ठम्याई छ । नेकपा एकीकृत समाजवादी यसअघि नेकपा माओवादी केन्द्रसँग एकीकरणका लागि अन्तिम तयारीमा पुगिसकेर पनि रोकिएको पार्टी हो । अहिले पनि उहाँले समाजवादी मोर्चा नामक अलाइन्स बनाएर प्रचण्डसँग सहकार्य गरिरहनु भएको छ । समाजवादीको यात्राको प्रस्थानविन्दु बनाउन खोलिएको मोर्चा अहिले चिया चौतारोका रुपमा सीमित छ । त्यसभन्दा एक कदम अघि बढेर गौतमको आगमनलाई वाम एकताको सन्देशका रुपमा बुझ्नु केही हदसम्म महत्वाकांक्षा भने हुन सक्छ । यही समयमा नेकपा एमालेमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पुनरागमनको औचित्यबारे समर्थनमा बोल्नेहरुले समेत वाम एकतालाई सहयोग पुग्ने अभिव्यक्ति दिने गरेका छन् । एकीकृत समाजवादीमा गौतमको प्रवेश र एमालेमा भण्डारीको पुनरागमनले लामो समयको वाम एकताको नारालाई थप तरंगित बनाउन सक्छ या सक्दैन, त्यो भने हेर्न बाँकी छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय