काठमाडौँ। नेकपा (माओवादी केन्द्र) को सातौँ पूर्ण बैठकले महत्त्वपूर्ण निर्णयहरू गर्दै केन्द्रीय समितिलाई महाधिवेशन आयोजक समितिमा रूपान्तरण गरेको छ। अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को संयोजकत्वमा रहने गरी यो समिति गठन गरिएको हो। बैठकले आगामी मंसिर महिनाभित्र महाधिवेशन सम्पन्न गर्ने घोषणा गरेको छ। पदाधिकारीहरू नै आयोजक समितिको सचिवालयमा रूपान्तरण हुनेछन्।



पार्टीलाई शुद्धीकरण, सुशासन र वैचारिक दिशा दिने उद्देश्यले बैठकले थुप्रै ऐतिहासिक निर्णयहरू लिएको प्रवक्ताले जानकारी दिए।
शुद्धीकरणका लागि शक्तिशाली आयोग गठन
बैठकले पार्टीभित्रको विकृति अन्त्यका लागि कडा कदम चाल्ने निर्णय गरेको छ। यसका लागि नेता-कार्यकर्ताको सम्पत्ति छानविन गर्न एक शक्तिशाली आयोग गठन गर्ने निर्णय पारित भएको छ।
यसैगरी, पार्टीभित्र बढ्दो नेपोटिज्म (नातावाद) अन्त्य गर्न कार्यविधि बनाउने निर्णय भएको छ। यो कार्यविधिले नेताका पारिवारिक सदस्यहरूको पार्टीमा भूमिकाबारे स्पष्ट निर्णय लिनेछ। पार्टी नेता तथा कार्यकर्ताको सॅस्कार, कार्यशैलि र चालचलन सम्बन्धी नीति बनाएर कडाइका साथ लागू गरिने भएको छ।
युवा र प्रविधिलाई प्राथमिकता
पार्टीलाई पुस्तान्तरण र प्रविधियुक्त बनाउने दिशामा पनि बैठकले ठोस निर्णय लिएको छ।
• जेन-जी (Gen-Z) लाई पार्टीका सबै कमिटीमा अधिकतम सहभागिता गराउँदै युवाहरूलाई प्राथमिकता दिने नीति लिइएको छ।
• वर्तमान आवश्यकतालाई मध्यनजर गर्दै सूचना प्रविधिको (I.T.) कामलाई उच्च प्राथमिकतामा राखेर काम गर्ने निर्णय भएको छ।
एकता र प्रस्तावहरू पारित
बैठकमा प्रस्तुत भएका विभिन्न वैचारिक तथा सांगठनिक प्रस्तावहरूबारे समेत निर्णय लिइएको छ।
• अध्यक्ष प्रचण्डले प्रस्तुत गरेको राजनीतिक प्रस्ताव बहुमतले पारित भएको छ।
• बैठकमा वरिष्ठ उपाध्यक्ष र उपमहासचिवले राखेका प्रस्तावहरूलाई अध्यक्षको मूल प्रस्तावमै समेटेर महाधिवेशनसम्म छलफल गर्दै जाने सहमति बनेको छ।
• अन्त्यमा, मुलुकमा कम्युनिष्ट आन्दोलनलाई मजबुत बनाउनका लागि विभिन्न विचार मिल्ने पार्टीहरूसँग एकता गर्ने नीतिलाई अगाडि बढाउने निर्णय पनि बैठकले गरेको छ।
यी निर्णयहरूसँगै माओवादी केन्द्र अब महाधिवेशनको तयारी र पार्टी शुद्धीकरणको अभियानमा केन्द्रित हुने देखिएको छ।



