काठमाडौँ । नेपालगञ्जमा अनिश्चितकालका लागि कर्फ्यू आदेश जारी भएको छ । हिन्दु र मुस्लिम समुदायबिच तनाव बढेपछि आज दिउसो १ः०० बजे देखि अनिश्चितकालका लागि कर्फ्यू आदेश जारी भएको हो । जिल्ला प्रशासन कार्यालय बाँकेले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) (१) (३) बमोजिम कर्फ्यू आदेश जारी गरेको हो । नेपालगञ्ज नगर क्षेत्र (पूर्वमा राप्ती नदि पुल, पश्चिममा खजुरा रोडको ईन्द्रपुर जाने बाटो, उत्तरमा राँझा चोक र दक्षिणमा जमुनाहा नाका) यति चार किल्ला सिमा क्षेत्र भित्र कसैले भेला हुन, सभा समारोह गर्न, जुलुस -याली गर्न, हुल हुज्जत गर्न र हिँडडुल गर्न समेत नपाईने गरी कर्फ्यू आदेश जारी गरिएको हो ।




सर्वसाधारणको सुरक्षामा पर्न सक्ने सम्भावित जोखिम एवं शान्ति भंग हुन जान सक्ने स्थिति देखिएकोले कर्फ्यू आदेश जारी गरिएको प्रशासनले जनाएको छ ।

यसैबिच,राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका सांसद धवलशमशेर राणाले नेपालगञ्जमा सद्भाव कायम गर्न अपिल गरेका छन् । प्रतिनिधि सभाको बैठकमा आकस्मिक समय लिएर ‘सद्भावको शहरमा अशान्ति नफैलाउन नेपालगञ्जबासीहरुलाई अनुरोध गर्दछु ।’राणाले भनेका हुन । ‘सरकारलाई अनुरोध छ– हिंसाको घटनाहरु तुरुन्तै कन्ट्रोलमा ल्याउनुपर्यो । यो सबैको जड मोबाइल हो । साइबर क्राइमलाई तुरुन्तै कारबाहीको दायरामा ल्याउनुप¥यो ।’ भन्दै राणाले सरकारलाई हिंसाका घटनालाई नियन्त्रणमा लिन समेत आग्रह गरेका छन् ।



