सुनसरीको घटनापछि देशका विभिन्न स्थानमा तनावको अवस्था देखिएका बेला बाँकेको नेपालगञ्जमा धार्मिक सद्भाव, सामाजिक एकता र शान्तिको सन्देश प्रवाह गर्न बृहत् सद्भाव र्याली आयोजना गरिएको छ। जिल्ला प्रशासन कार्यालय बाँकेको अगुवाइमा शनिबार बिहान नेपालगञ्जमा आयोजना गरिएको र्यालीमा विभिन्न क्षेत्रका प्रतिनिधि तथा सर्वसाधारणको उल्लेख्य सहभागिता रहेको थियो। बिहान ८ बजे बीपी चोकबाट सुरु भएको र्याली धम्बोजी चोकमा पुगेर समापन भएको थियो।
र्यालीमा प्रमुख जिल्ला अधिकारी, विभिन्न राजनीतिक दलका प्रतिनिधि, धार्मिक गुरु, सामाजिक संघसंस्थाका प्रतिनिधि, उद्योगी–व्यवसायी, चिकित्सक, शिक्षक, खेलाडी, नागरिक अगुवा तथा स्थानीय सर्वसाधारण सहभागी भएका थिए।



प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले सुनसरी घटनापछि मधेस प्रदेशका विभिन्न जिल्लामा प्रदर्शन भइरहेका बेला बाँकेबाट धार्मिक सहिष्णुता, सामाजिक सद्भाव, शान्ति र राष्ट्रिय एकताको सन्देश दिन र्याली आयोजना गरिएको बताए।
उनले समाजमा आपसी विश्वास, भाइचारा र सद्भाव कायम राख्नु सबैको जिम्मेवारी भएको उल्लेख गर्दै नेपालगञ्जको बहुधार्मिक र बहुसांस्कृतिक पहिचानलाई कायम राख्न सबै पक्षलाई आग्रह गरे। र्याली समापनपछि सुनसरी घटनामा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै एक मिनेट मौनधारण गरिएको थियो। त्यसपछि दीप प्रज्वलन गरी शान्ति र सद्भावको कामना गर्दै कार्यक्रम सम्पन्न गरिएको थियो। प्रशासनले नेपालगञ्जमा सामाजिक सद्भाव कायम राख्न र कुनै पनि किसिमका उत्तेजक गतिविधि हुन नदिन सबै पक्षसँग सहकार्य गर्दै आएको जनाएको छ।



