काठमाडौं- नेपाली मूलका अस्ट्रेलियन उद्यमी तथा सामाजिक अभियन्ता प्रामेज (पीजे) श्रेष्ठ अस्ट्रेलियन क्याथोलिक युनिभर्सिटी (ACU) को सन् २०२६ को प्रतिष्ठित ‘ग्लोबल कनेक्सन एलुम्नाइ अवार्ड’बाट सम्मानित भएका छन्। नेपाल र अस्ट्रेलियाबीच व्यावसायिक, सामाजिक तथा सामुदायिक सम्बन्ध विस्तारमा पुर्याएको योगदानको कदर गर्दै श्रेष्ठलाई उक्त अवार्ड प्रदान गरिएको हो। डिजिटल कन्सल्टिङ भेन्चर्सका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत श्रेष्ठ अस्ट्रेलियामा नेपाली समुदायको प्रतिनिधित्व गर्दै विभिन्न सामाजिक तथा सार्वजनिक गतिविधिमा सक्रिय रहँदै आएका छन्। उनले व्यवसाय, राजनीति र सामुदायिक सेवामार्फत नेपाल र अस्ट्रेलियाबीचको सम्बन्ध सुदृढ बनाउन योगदान पुर्याउँदै आएका छन्।
श्रेष्ठ सन् २०१९ मा अस्ट्रेलियाको संघीय निर्वाचनमा तत्कालीन सत्तारूढ लिबरल पार्टीका उम्मेदवार बनेका थिए। उनी अस्ट्रेलियाको प्रमुख राजनीतिक दलबाट संघीय निर्वाचनमा उम्मेदवारी दिने नेपाली मूलका पहिलो व्यक्ति बनेका थिए। उक्त निर्वाचनमा उनी तत्कालीन प्रधानमन्त्री स्कट मोरिसनको चुनावी टोलीको हिस्सा थिए। अस्ट्रेलियामा नेपाली मूलका युवाहरूलाई प्रोत्साहन, मार्गदर्शन तथा उद्यमशीलतामा सहयोग पुर्याउने विभिन्न अभियानमा समेत श्रेष्ठ संलग्न छन्। उनको सामाजिक योगदानका कारण सन् २०२४ मा ‘४० अन्डर ४० मोस्ट इन्फ्लुएन्सियल एसियन–अस्ट्रेलियन अवार्ड्स’ अन्तर्गत कम्युनिटी एन्ड एड्भोकेसी विधामा फाइनलिस्टका रूपमा छनोट भएका थिए। त्यस्तै, सन् २०१६ मा उनले ‘मिस्टर नेपाल ओसियाना’ को उपाधिसमेत जितेका थिए।



नेपालमा सन् २०२६ मा आएको बाढीका बेला श्रेष्ठ राहत तथा पुनःस्थापनाका लागि सक्रिय भएका थिए। उनले प्रभावित क्षेत्रमा पुगेर राहत सामग्री तथा आवश्यक स्रोतसाधन व्यवस्थापन गर्नुका साथै अस्ट्रेलियामा रहेका नेपाली परिवार र सहयोगीहरूसँग समन्वय गरेका थिए। उनको उक्त योगदानलाई अस्ट्रेलियाको सिनेटमा सांसद एन्ड्र्यु ब्रागले ८ सेप्टेम्बर २०२६ मा उल्लेख गरेका थिए। उनले नेपालको पुनःस्थापनाका लागि श्रेष्ठले गरेको सहयोग समन्वय र आर्थिक स्रोत संकलनको प्रशंसा गरेका थिए। त्यस्तै, न्यु साउथ वेल्सको विधानसभामा सांसद मार्क काउरेले १५ सेप्टेम्बर २०२६ मा नेपालको बाढीसम्बन्धी छलफलका क्रममा श्रेष्ठसहित नेपाली समुदायका अगुवाहरूको योगदानको चर्चा गरेका थिए।
श्रेष्ठको योगदानलाई सम्मान गर्दै प्रदान गरिएको ACU को ग्लोबल कनेक्सन एलुम्नाइ अवार्डले विश्वव्यापी सम्बन्ध विस्तार, अन्तरसांस्कृतिक समझदारी र अन्तर्राष्ट्रिय सहकार्यमा महत्त्वपूर्ण भूमिका खेल्ने विश्वविद्यालयका पूर्वविद्यार्थीलाई सम्मान गर्छ। विश्वविद्यालयका विश्वभर रहेका एक लाख ५५ हजारभन्दा बढी पूर्वविद्यार्थीमध्ये उल्लेखनीय योगदान गर्ने व्यक्तिहरूलाई प्रदान गरिने यस सम्मानले श्रेष्ठको कामलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाएको छ।
अवार्ड घोषणा गर्दै ACU का उपकुलपति तथा अध्यक्ष प्राध्यापक ज्लात्को स्क्रिब्सले प्रतिभा र दृढ संकल्पलाई समाजमा सकारात्मक परिवर्तन ल्याउने प्रतिबद्धतासँग जोड्दा असाधारण उपलब्धि हासिल गर्न सकिने बताएका छन्। सन् २०१५ मा ACU बाट कमर्स विषयमा स्नातक गरेका श्रेष्ठले विश्वविद्यालयका प्राध्यापक र करियर टिमले आफ्नो क्षमता पहिचान गर्न तथा भविष्यको बाटो तय गर्न महत्त्वपूर्ण सहयोग गरेको बताएका छन्। ACU को IMPACT प्रकाशनसँगको कुराकानीमा उनले भनेका छन्, ‘मैले आफैंमाथि विश्वास गर्नुअघि नै उनीहरूले ममाथि विश्वास गरेका थिए।’ नेपाल र अस्ट्रेलियाबीचको सम्बन्ध विस्तार, नेपाली समुदायको सशक्तीकरण तथा सामाजिक सेवामा सक्रिय श्रेष्ठले प्राप्त गरेको यो सम्मानलाई अस्ट्रेलियामा रहेका नेपाली समुदायका लागि पनि गौरवको उपलब्धिका रूपमा हेरिएको छ।



