काठमाडौं । आज नेपाल पत्रकार महासंघको ७१औँ स्थापना दिवस । दिवसका अवसरमा सोमबार राजधानीमा विशेष प्रभातफेरी गरिएको छ । सिनामंगलबाट सुरु भएको प्रभातफेरी विभिन्न स्थान हुँदै महासंघको केन्द्रीय कार्यालय सञ्चारग्राममा पुगेर समापन गरिएको थियो ।

प्रभातफेरीमा महासंघका अध्यक्ष निर्मला शर्मा, पदाधिकारी, केन्द्रीय सदस्य, विभिन्न सञ्चारगृहमा कार्यरत पत्रकार तथा सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो । सहभागीहरूले पछिल्लो समय पत्रकारितामाथि देखिएका चुनौतीहरू, सूचना प्राप्तिमा देखिएको कठिनाइ, तथा पत्रकार सुरक्षाका विषयमा सरकार र सरोकारवाला निकायको ध्यानाकर्षण गराएका थिए ।

प्रभातफेरीपश्चात् सञ्चारग्रामस्थित पत्रकार स्तम्भमा पुष्पगुच्छा अर्पण कार्यक्रम आयोजना गरिएको थियो । सो अवसरमा अध्यक्ष शर्मा, पूर्वअध्यक्ष हरिहर विरही, सल्लाहकार रमेश विष्ट लगायतले पत्रकार स्तम्भमा श्रद्धाञ्जलि अर्पण गर्दै दिवंगत पत्रकारहरूको योगदानको स्मरण गरेका थिए । कार्यक्रममा पत्रकारिताको विकासमा पु¥याइएको योगदानको कदर गर्दै अग्रज पत्रकारहरूको भूमिका स्मरण गरिएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष शर्माले लोकतन्त्रको सुदृढीकरणका लागि स्वतन्त्र, निष्पक्ष र उत्तरदायी पत्रकारिता अपरिहार्य रहेको बताइन् । उनले पत्रकारहरूको पेशागत अधिकार सुनिश्चित गर्न, श्रम अधिकारको कार्यान्वयन गर्न तथा सञ्चार क्षेत्रलाई थप मर्यादित र जिम्मेवार बनाउन महासंघ प्रतिबद्ध रहेको उल्लेख गरिन् । साथै उनले पत्रकारमाथि हुने आक्रमण, धम्की तथा दण्डहीनताको अन्त्य गर्न सम्बन्धित निकायसँग समन्वय र दबाब जारी राख्ने पनि बताइन् ।
यसै अवसरमा विभिन्न जिल्लामा रहेका महासंघका शाखाहरूले पनि प्रभातफेरी, अन्तरक्रिया, रक्तदान, सम्मान तथा छलफल कार्यक्रम आयोजना गरेका छन् । कार्यक्रममा सहभागीहरूले नयाँ प्रविधिसँगै विकसित हुँदै गएको सञ्चार माध्यमलाई जिम्मेवार ढंगले उपयोग गर्नुपर्नेमा जोड दिएका थिए ।

वि.सं. २०१२ चैत १६ गते स्थापना भएको नेपाल पत्रकार महासंले पत्रकारहरूको हकहित संरक्षण, प्रेस स्वतन्त्रताको प्रवद्र्धन तथा व्यावसायिक पत्रकारिताको विकासमा निरन्तर भूमिका खेल्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय