काठमाडौं । नागढुङ्गा–मुग्लिङ सडक विस्तार आयोजनाअन्तर्गत नौबिसे–मलेखु खण्डको निर्माण कार्यले गति लिएको छ । कुल ४३ किलोमिटर लम्बाइ रहेको यस खण्डमध्ये हालसम्म २५ किलोमिटर कालोपत्रे र २ किलोमिटर ढलान गरी कुल २७ किलोमिटर सडक निर्माण सम्पन्न भएको छ ।

नागढुङ्गा–मुग्लिङ सडक योजना (पूर्वी खण्ड) का योजनाका अनुसार यस खण्डको समग्र भौतिक प्रगति ६० प्रतिशत पुगेको छ । आयोजनाले चालु आर्थिक वर्षमा ७५ प्रतिशत भौतिक प्रगति हासिल गर्ने लक्ष्य राखेको भए पनि अन्तर्राष्ट्रिय बजारमा देखिएको बिटुमिन अभावका कारण लक्ष्य प्राप्तिमा केही अवरोध भएको थियो । मध्यपूर्वमा उत्पन्न तनावका कारण बिटुमिन आपूर्तिमा समस्या भए पनि हाल पूर्वाधार विकास मन्त्रालयको सहजीकरणपछि आपूर्ति सहज भएकाले निर्माण कार्यले पुनः गति लिएको आयोजनाले जनाएको छ ।

आयोजनाका अनुसार पहिलो खण्डअन्तर्गत पर्ने नागढुङ्गा–नौबिसे सडकको भौतिक प्रगति ८८ प्रतिशत पुगिसकेको छ । दोस्रो खण्ड (नौबिसे–मलेखु) मा हालसम्म सम्पन्न २५ किलोमिटर कालोपत्रेमध्ये २ दशमलव ५ किलोमिटर दुई लेनमा गरिएको छ भने बाँकी २२ दशमलव ५ किलोमिटर सडकको पूर्ण चौडाइमा कालोपत्रे गरिएको छ । निर्माण कम्पनीले मौसमले साथ दिए आगामी केही दिनभित्र थप ६ किलोमिटर सडक कालोपत्रे गर्ने लक्ष्य रहेको पनि जनाएको छ ।
हाल निर्माण कम्पनीले दैनिक ४०० देखि ५०० मिटरसम्म सडक कालोपत्रे गर्ने क्षमताका साथ काम गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय