पनौती – पनौती नगरपालिकाले वडा नम्बर २ र १२ मा सञ्चालन भइरहेका तीनवटा रोडा ढुंगा उद्योग बिहीबार बन्द गराएको छ। खानी तथा भूगर्भ विभागबाट जारी उत्खनन अनुमति समाप्त भइसकेपछि पटक–पटक ताकेता गर्दा पनि उद्योगहरू बन्द नगरेको भन्दै नगरपालिकाले थप निर्णय नहुँदासम्मका लागि उद्योगहरूलाई रोक्ने निर्णय गरेको हो।

बन्द गराइएका उद्योगहरूमा

डाइमण्ड स्टोन माइनिङ प्रा. लि. ९पनौती–२०
भालेश्वर रोडा ढुङ्गा उद्योग प्रा. लि. ९पनौती–१२०
दिपलक्ष्मी एग्रिगेट एण्ड माइनिङ प्रा. लि. ९पनौती–१२०

नगरपालिकाले यसअघि पनि अवैध रूपमा सञ्चालन भइरहेका खानी तथा क्रसर उद्योगहरूलाई कानुनी रूपमा स्वीकृति नलिई सञ्चालन नगर्न निर्देशन दिएको थियो। तर, तोकिएको मापदण्ड पूरा नगरी सञ्चालन भइरहेका उद्योगहरूले वातावरणीय असर पार्दै आएको स्थानीयवासीको गुनासो थियो। नगर प्रमुख रामशरण भण्डारी, उपप्रमुख गीता बन्जारा, वडा नम्बर २ का अध्यक्ष पुरुषोत्तम अधिकारी, वडा नम्बर १२ का अध्यक्ष जयराम केसी, निर्देशक प्रणराज न्यौपाने, प्रशासन शाखा प्रमुख शम्भुप्रकाश शर्मा, इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख ज्ञानबहादुर खड्का तथा प्रहरी टोलीको उपस्थितिमा उद्योगहरू बन्द गरिएको हो।

अवैध खानी तथा क्रसर उद्योगबारे अनुगमनको निष्कर्ष
जिल्ला अनुगमन समितिले गत माघ ९ मा नदी तथा खानीजन्य क्रसर उद्योगहरूले वातावरणीय असन्तुलन सिर्जना गरेको निष्कर्ष निकालेको थियो। प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बसेको जिल्ला सुरक्षा समितिको बैठकले अवैध रूपमा सञ्चालित ढुंगा तथा क्रसर उद्योगहरूले बाढीपहिरो, नदीको धार परिवर्तन, बस्ती जोखिममा पर्नेजस्ता गम्भीर समस्याहरू निम्त्याएको भन्दै अवैध उद्योगहरू बन्द गर्नुपर्ने निर्णय गरेको थियो। माघ ३ गते नै जिल्लाका सबै स्थानीय तहलाई अवैध रूपमा सञ्चालित खानी तथा क्रसर उद्योगहरू बन्द गर्न पत्राचार गरिएको थियो। तर, कार्यान्वयनमा ढिलाइ भएकाले अन्य पालिकाहरूमा अझै पनि यस्ता उद्योगहरू सञ्चालनमा रहेका छन्।

बाढीपहिरोका कारण वातावरणीय प्रभाव
बाढीपहिरोपछि खोलाको धार परिवर्तन भएको, आसपासका बस्तीहरू जोखिममा परेका, भूभाग भत्किएको, धुलो तथा ग्राभेलको कारण खोला सतह बढेको समस्या देखिएको छ। यसबारे विस्तृत अध्ययन गर्न राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई अनुरोध गरिएको छ।

काभ्रे जिल्लाका खानी तथा क्रसर उद्योगको अवस्था
२०७९ मा जिल्लास्तरीय अनुगमन कार्यदलले स्थलगत अनुगमन गर्दा काभ्रेका कुनै पनि खानी तथा क्रसर उद्योगले मापदण्ड पूरा नगरेको पाइएको थियो। अनुगमनका क्रममा उद्योगहरू दर्ता नभएको, कागजात नभेटिएको, फोहोर व्यवस्थापन नगरेको, अत्यधिक उत्खनन गरिएको जस्ता समस्या देखिएको थियो। हाल काभ्रेपलाञ्चोक जिल्लामा ४८ वटा खानी तथा क्रसर उद्योग रहेका छन्। अनुगमन गरिएका ४२ उद्योगमध्ये अधिकांश उद्योग अवैधानिक रूपमा सञ्चालन भइरहेका भेटिएका थिए।

सबैभन्दा बढी खानी तथा क्रसर भएका पालिकाहरू
पनौती नगरपालिका: १४ वटा खानी तथा क्रसर ९७ खानी र ५ क्रसर सञ्चालनमा
बेथानचोक गाउँपालिका: ३ वटा खानी तथा क्रसर
नमोबुद्ध नगरपालिका: ४ मध्ये १ क्रसर मात्र सञ्चालनमा
रोशी गाउँपालिका: ५ मध्ये २ क्रसर सञ्चालनमा
मण्डनदेउपुर नगरपालिका: ३ खानी तथा क्रसर सञ्चालनमा
भुम्लु गाउँपालिका: ४ क्रसर र ७ खानी सञ्चालनमा
केही पालिकाहरूमा खानी तथा क्रसर छैनन्
काभ्रेका पाँचखाल, धुलिखेल, महाभारत र खानीखोला पालिकामा भने कुनै खानी तथा क्रसर उद्योग सञ्चालनमा छैनन्। पनौती नगरपालिकाले अवैध रूपमा सञ्चालन भएका उद्योगहरूलाई निरन्तर अनुगमन गर्दै थप कारबाहीको तयारी गरेको जनाएको छ। अन्य स्थानीय तहहरूमा समेत अवैध खानी तथा क्रसर उद्योगहरू बन्द गराउन पहल गरिनुपर्ने सुझाव विज्ञ तथा स्थानीय बासिन्दाहरूले दिएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय