काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू पब्लिक डिबेटका लागि तयार भएको बताएका छन् । आज विहानै सामाजिक सञ्जाल फेसबुकमा लेख्दै ओलीले नयाँ र पुराना सबै दल चुनावमा होमिएका बेला देश जलाउने र देश बचाउने पक्षबीच हुने यो प्रतिष्पर्धामा नेकपा एमाले देश बनाउनेतर्फबाट मैदानमा रहेको उल्लेख गरेका छन् ।
ओलीले सार्वजनिक बौद्धिक वृत्तबाट पार्टीका प्रमुख नेताहरूबीच एउटा पारदर्शी बहसको माग भइरहेको सुनिएको र फ्रेमिङ गरेर सामाजिक सञ्जालमा ल्याइएका प्रचार सामग्री मतदातालाई देखाएर आफ्नो वास्तविक चरित्र लुकाउने प्रवृत्ति देखिएकोले यस्तो पब्लिक डिबेट माग भएको हुनसक्ने पनि बताएका छन् ।
ओलीले चुनावपछि प्रधानमन्त्रीको उम्मेदवारमा प्रस्तुत भएका सबैलाई सिधा प्रश्न सोध्न खडा गरिएको मञ्चमा उभिएर आफ्ना एजेण्डा राख्ने प्रतिबद्धता जनाएका छन् र यस्तो पब्लिक डिबेट आयोजना गरेर सबै पक्षलाई ल्याउन आग्रह पनि गरेका छन् ।



यता, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का बरिष्ठ नेता एवम् भावी प्रधानमन्त्रीको रुपमा चुनावमा उत्रिएका बालेन साहले भने पब्लिक डिबेट अस्वीकार गरेका छन् । बालेनले पनि सामाजिक सञ्जालमा ओलीले लेखेको सन्देशमा प्रतिक्रिया दिँदै भनेका छन्, ‘७६ जना बच्चाको हत्यारा र उसको मतियारसँग एउटै मञ्चमा उभिनु भनेको म पनि त्यसमा सामेल भएको बुझिनेछ ।’ यसको अर्थ उनले पब्लिक डिबेट अस्वीकार गरेको देखिएको छ । उनले एमाले अध्यक्ष ओलीलाई आतंककारी स्वीकार्न पनि भनेका छन् र लेखेका छन्, ‘आफूलाई देश जलाउनेको रूपमा स्वीकारेको ठीकै छ, हुन पनि नेताहरूको घर कता कता छन् तपाईंहरूलाई नै थाहा थियो ! तपाईंहरूले आफैँ २३ गते बच्चाहरू मारेको आतंकवाद लुकाउन २४ गते जलाएको हो । आफूलाई आतंकवादी चाहिँ कहिले स्वीकार्ने हो ? त्यो पछि अरू कुरा गरौँला ।’
केहिदिनेदेखि सामाजिक सञ्जालमा भावी प्रधानमन्त्रीका उम्मेदरवाबीच पब्लिक डिबेट चलाउनुपर्ने भन्दै आवाज उठिरहेको छ ।



