अर्घाखाँची । अर्घाखाँचीको सुपादेउरालीमा केबलकार निर्माण गरिने भएको छ । सुपादेउराली मन्दिरमा आउने आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गर्दै केबलकार निर्माण गर्ने लागिएको हो ।
यही असार १३ गते सन्धिखर्क नगर कार्यपालिकाले सुपादेउरालीमा केबलकार निर्माणका लागि सुपादेउराली केबलकार प्रालिलाई उद्योग दर्ताको लागि सिफारिस गर्ने निर्णय गरेको नगरप्रमुख कृष्णप्रसाद श्रेष्ठले जानकारी दिनुभयो । उहाँले सुपादेउराली मन्दिरदेखि मसिनाको लेकसम्म केबलकार निर्माण हुने बताउनु भयो ।



प्रसिद्ध धार्मिकस्थल सुपादेउरालीमा आउने धार्मिक पर्यटकको संख्या पछिल्ला वर्षमा उल्लेखनीय बृद्धि हुन थालेको छ । सुपादेउरालीको दर्शन गरेपछि मनले चिताएको पुग्ने जनविश्वास छ । कुनै अप्ठ्यारो समस्या आएको बेलामा सुपादेउरालीलाई भाकल गरे समस्या टर्ने विश्वास छ । मन्दिरमा पाठी, बोकाको बली चढाउने चलन छ ।



