काठमाडौं । पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपीभी खोप लगाउन सुरु गरिएको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले आज काठमाडौँको थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालमा एक कार्यक्रमकाबिच खोप लगाउने कार्यको शुभारम्भ गर्नुभएको हो ।
योसँगै यो खोप सेवा आजैबाट सबै प्रदेशका संघीय अस्पतालहरूबाट पनि सुरु हुनेछ । मन्त्री बस्नेतले ऐतिहासिकता तथा योगदानलाई ख्याल गरेर परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालबाटै सो खोपको सुरुवात गर्ने निर्णय लिइएको बताउनुभयो । उहाँले तत्कालका लागि सीमित स्रोत र साधन भए पनि छिट्टै सो खोप सबै किशोरीहरूले पाउने गरी सरकारले आवश्यक व्यवस्था मिलाउने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो । मन्त्री बस्नेतले यो खोप सबै जिल्लामा पुग्नुपर्ने उल्लेख गर्दै त्यसका लागि आफूले पहल गरिरहेको समेत बताउनुभयो ।



यो खोप १४ वर्ष उमेर पूरा भएका र १५ वर्ष ननाघेका किशोरीलाई लगाउन लागिएको हो । सरकारले सोही उमेर समूहका किशोरीहरुलाई लक्षित गरेर हाल २० हजार भाइल खोप आयात गरेको छ । यो खोप ६ महिनाको अन्तरालमा दुई मात्रा लगाउनुपर्ने चिकित्सकहरुले बताएका छन् ।



