पाल्पा, ७ चैत ।



पाल्पाको माथागढी गाउँपालिका वडा नम्बर ७, रहबासमा शनिबार साँझ एक ट्रिपर दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ। झडेवाबाट चुनढुङ्गा लिन जाँदै गरेको लु २ ख ४५२५ नम्बरको ट्रिपर अनियन्त्रित भई सडकबाट करिब ५० मिटर तल खसेको हो।
जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार दुर्घटनामा परी मृत्यु हुनेमध्ये एक जनाको पहिचान खुलेको छ। मृत्यु हुनेमा अर्घाखाँची जिल्लाको शीतगंगा नगरपालिका वडा नम्बर ४ निवासी २६ वर्षीय चिन्ताबहादुर सुनार रहेका छन्। अन्य दुई मृतकको भने हालसम्म सनाखत हुन सकेको छैन।
प्रहरी सूचना अधिकारी होमप्रकाश चौधरीका अनुसार दुर्घटनामा एक जना गम्भीर घाइते भएका छन्। घाइते हुनेमा तानसेन नगरपालिका वडा नम्बर १०, पटुवाका ३३ वर्षीय राजन चिदी रहेका छन्। उनको उपचारका लागि तत्काल पहल गरिएको छ।
शनिबार बेलुकी करिब ६ बजे भएको उक्त घटनाबारे थप अनुसन्धान भइरहेको र पहिचान नखुलेका व्यक्तिहरूको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।



