काठमाडौं । ‘समृद्ध समाजको निर्माण पुण्योदय सहकारीको अभियान’ भन्ने नाराका साथ पुण्योदय बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले आफ्नो आठौं वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।

बागमती प्रदेशका पूर्व युवा तथा खेलकुद मन्त्री एवम् सांसद रमा आले मगरले नागरिकलाई बचत गराउने बानी बसाल्ने र थोरै थोरै रकम संकलन गरेर बचतकर्ताको समस्या समाधान गर्नु नै सहकारीको मुख्य उद्देश्य भएको बताउनु भयो । उहाँले सहकारीले थोरै थोरै रकम जम्मा गरेर एक मुष्ठ लगानी गरी आफ्ना शेयर धनी र बचतकर्ताको समस्या समाधान गर्नु नै उसको प्रमुख दायित्व भएको उल्लेख गर्नुभयो । अब सहकारीले आफ्नो बचतकर्ता, शेयरधनी लगायत नगरपालिकाको आम्दानी बढाउनको लागि प्रमुख भूमिका खेल्नु पर्ने बेला भएको बताउनु भयो । मगरले अहिले सहकारीमाथी जनताको विश्वास गुम्दै गएकोले सहकारीले आफुले गरेको र गर्दैआएको गतिविधिलाई रोकेर जनताको विश्वास कायम हुने गरी काम गर्न संचालकलाई सुझाव दिनुभयो । सांसद आलेमगरले सहकारीले शेयर सदस्य र बचतकर्ताको मन जितेर सहकारीलाई हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउन आवश्य रहेको बताउनु भयो । उहाँले देशको सबै क्षेत्र राजनीतिबाट सम्भव हुने भएकोले महिलाहरुलाई राजनीतिमा आउन पनि आग्रह गर्नुभयो । उहाँले अहिले संविधानमा उल्लेख भएअनुसार अहिले वडा देखि केन्द्रसम्म महिलालाई राख्नुपर्ने बाध्यात्मक परिस्थितिले महिलाले स्थान पाएको र आफुले पाएको स्थानलाई उचित सदुपयोग गरी नेतृत्व गर्ने हिसाबले अघि बढ्न सुझाव दिनुभयो ।

चन्द्रागिरि नगरपालिकाका उपप्रमुख बसन्ती श्रेष्ठले नगरभित्र ठूलो सहकारीमा मात्र नभई साना सहकारीमा पनि समस्या देखिएको बताउनु भयो । उहाँले नगरपालिकाको न्यायिक समितिमा अहिले नगरभित्र रहेका ठूला तथा साना सहकारीविरुद्ध बचतकर्ताले बचत फिर्ता नपाएको भन्दै मुद्दा हालेको उल्लेख गर्नुभयो । उपमेयर श्रेष्ठले नगरका सहकारीहरु धरासायी हुनुमा संचालक समितिका पदाधिकारीमा निर्भर रहेको बताउनु भयो । उहाँले जतिपनि सहकारी धरासायी भएका छन् ती सहकारी आफ्नै परिवारका सदस्यहरु बसेर संचालनमा आएका सहकारीहरुमा समस्या देखिएको दाबी गर्नुभयो । उहाँले ऋण लिएका ऋणिलाई पनि सहकारीमा बेलैमा साँवाव्याज तिरेर अन्य बचतकर्ताको बचत रकमलाई जोखिममुक्त हुनबाट सहयोग पुर्याउनु आग्रह गर्नुभयो ।

यूवा व्यवसायी तथा समाजसेवी इश्वर लामाले जुन क्षेत्रमा महिला सक्रिय हुन्छन् त्यो क्षेत्र सधै सफल हुने भएकोले प्रायः सहकारीमा पुरुष बढी भएको र यो सहकारीमा महिला सदस्य बढी हुँदा सहकारी सधै प्रगतिको बाटोमा लम्किरहेको उल्लेख गर्नुभयो । उहाँले पहिले हाम्रो समाजमा महिला घरको चुलोचौकामै सिमित हुने गरेपनि छोटो समयमै महिलाले अग्रणी भूमिका निर्वाह गर्न सफल भएको पनि दाबी गर्नुभयो । लामाले अहिले अधिकांश सहकारी उत्पादन लगानी नगरी अन्य क्षेत्रमा लगानी गर्दै आएकाले अब सहकारीको पहिलो प्राथमिकता उत्पादनमा हुनु पर्ने बताउनु भयो । उहाँले सहकारीमाथी लागेको दाग हटाउनको लागि भएपनि चन्द्रागिरि नगरपालिका भित्र रहेका सबै सहकारीले उत्पादनमा लगानी गरी रोजगारीलाई जोड्नु आवश्यक रहेको बताउनु भयो ।

कार्यक्रममा सहकारीका कोषाध्यक्ष सन्देश अमात्यले आर्थिक वर्ष २०८०-०८१ को आय व्यय तथा आ.ब. २०८१-०८२ को अनुमानित आय व्यय विवरण प्रस्तुत गर्नुभएको थियो । उहाँले अहिले ४ करोड ३० लाख ७१ हजार १ सय संस्थाको शेयर पूँजी भएको जानकारी गराउनु भयो । कोषाध्यक्ष अमात्यले आर्थिक वर्ष २०८०-०८१ को बचत परिमाण भन्दा साविक बचत २० दशमलव ४४३१ प्रतिशतले बृद्धि भई १२ करोड ६५ लाख ५२ हजार ५ सय ७७ रुपैयाँ ३१ पैसा बचत संकलन भएको बताउनु भयो । अमात्यले व्यवसायिक कर्जा, घर कर्जा र अन्य लगानी गरी आ.ब. २०८०-०८१ मा गत वर्षको तुलनामा करिब ९ दशमलव ९६ प्रतिशतले बृद्धि भई १४ करोड ८० लाख ३३ हजार ५ सय ४८ रुपैयाँ लगानी भएको जानकारी गराउनु भयो । उहाँले संस्थाको १ करोड ७९ लाख ३ हजार ९ सय ७२ रुपैयाँ आम्दानी हुँदा १ करोड ४८ लाख ६० हजार ६ सय ५७ रुपैयाँ ८३ पैसा खर्च भएपनि २७ लाख ६३ हजार २ सय ८२ रुपैयाँ ४१ पैसा नाफा भएको उल्लेख गर्नुभयो ।

संस्थाका अध्यक्ष सानुकाजी खड्गीले समाज समृद्ध बनाउन समाजमा रहेका मानिसको जीवन स्तरमा सुधार हुनुपर्ने बताउनु भयो । उहाँले परिवर्तन र मानव जीवन स्तर सुधारको प्रमुख नै बचत भएकोले थोरै भएपनि बचत गर्ने बानी बसाल्न आग्रह गर्नुभयो । अध्यक्ष खड्गीले संस्थामा आवद्ध सबै सदस्यहरुको आर्थिक पक्षको विकास गराउने, गुणस्तरीय जीवनको सिर्जना गर्ने र समृद्ध समाज निर्माण गराउनु नै सहकारीको प्रमुख कर्तब्य भएको बताउनु भयो ।

उहाँले सहकारीमा आबद्ध बचतकर्तालाई संस्थाले विभिन्न सुविधा प्रदान गर्दै आएको पनि जानकारी दिनुभयो । उहाँले सुत्केरी पोषण भत्ता, बालबालिकाको जन्मदिनको अवसरमा केक उपहार, काजकिरिया खर्चलगायतका सेवा उपलब्ध गराउँदै आएकोमा आगामी वर्षमा अन्य थप सेवा सुविधा सहकारी सदस्यहरुलाई उपलब्ध गराउने पनि प्रतिबद्धता व्यक्त गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय