काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल पतञ्जली समूहसँग सम्बन्धित जग्गा सट्टापट्टा प्रकरणमा विशेष अदालतमा आज उपस्थित हुनुभएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको आरोपमा दायर गरेको मुद्दाको सिलसिलामा उहाँ अदालत पुग्नुभएको हो ।
नेपालमाथि सरकारी ओहदाको दुरुपयोग गरी काठमाडौंको बल्खुस्थित सरकारी जग्गा पतञ्जली आयुर्वेद लिमिटेडलाई अनियमित रुपमा उपलब्ध गराएको आरोप लागेको छ । आयोगले जेठ २२ गते विशेष अदालतमा दायर गरेको मुद्दामा नेपालसहित ९३ जना प्रतिवादी बनाइएको छ । आयोगले १८ करोड ५८ लाख ५० हजार रुपैयाँ बराबरको बिगो निर्धारण गर्दै जरिवाना र कैद सजायको माग दाबी गरेको छ ।



उहाँ निकटका कानुन व्यवसायीहरूले बयान सकेपछि थुनछेक बहस हुनेछ । नेपाल पक्षले अदालतसँग उहाँलाई साधारण तारेखमा छाडेर मुद्दाको प्रक्रिया अगाडि बढाउन माग गर्नेछ । तर, सरकारी वकिलले भने गम्भीर आरोपको कारण देखाउँदै थुनामा पठाइनुपर्ने तर्क गर्ने जनाइएको छ ।
बयानपछि अध्यक्ष नेपालले पार्टीको सचिवालय बैठकसमेत बोलाउने तयारीमा गर्नुभएको छ । उहाँ पछिल्लो समय मुद्दासम्बन्धी कानुनी परामर्शमा व्यस्त रहनुभएको छ । यो प्रकरण नेपालमा उच्च तहका व्यक्तिहरू समेत भ्रष्टाचार अनुसन्धानको दायरामा आउने उदाहरणका रूपमा हेरिएको छ । विशेष अदालतको आगामी निर्णयले यस मामिलामा थप राजनीतिक तथा कानुनी बहसको द्वार खोल्ने देखिएको छ ।



