गोरखा, पूर्वराजा ज्ञानेन्द्र शाहले शनिबार गोरखा भ्रमणका क्रममा देशवासीको सुख र समृद्धिको लागि कामना गरेका छन्। गोरखकाली मन्दिरमा पूजाअर्चना गरेपछि उनले सञ्चारकर्मीसँग कुराकानी गर्दै शान्ति र भाइचारा कायम राख्न सबैलाई आह्वान गरे। पूर्वराजा शाहले भने, अहिले देशमा शान्ति चाहिएको छ। कुनै पनि व्यक्तिले अर्कोको बिपत्तिमा खुशी नहुनुपर्छ। हाम्रो सबैको कामना एउटै हो—शान्ति र समृद्धिको यात्रामा अघि बढौं।



गोरखा पुगेर खुशी व्यक्त गर्दै शाहले भने, गोरखा मेरो पुर्खाको थलो हो। यहाँ आएर मलाई विशेष आनन्द लागेको छ। शाहले थपे, देशको शान्ति र समृद्धिका लागि सबैलाई कुनै पनि प्रकारको डर बिना काम गर्न सक्नुपर्छ। हामी सबैको उद्देश्य एउटै हो—देशमा सुख र समृद्धि होस्।
पूर्वराजा शाहले गोरखनाथ र गोरखकाली मन्दिरमा करिब दुई घण्टा पूजा अर्चना गरेका थिए। गोरखनाथ मन्दिरसँग शाहवंशीय राजाहरूको ऐतिहासिक सम्बन्ध रहेको छ, जसले नेपालका एकीकरणका क्रममा महत्त्वपूर्ण भूमिका निभाएको विश्वास गरिन्छ। पूर्वराजाले शान्ति र समृद्धिका लागि आफ्नो कामना व्यक्त गर्दै, सबैलाई एकजुट भएर देशको विकासमा हात मिलाउन आह्वान गरेका छन्।



