बेनी नगरपालिकाको दुई वटा विद्यालय बन्द भएको छ । नगरपालिकाको ५ नम्बर वडाको जगन्नाथ आधारभूत र १० नम्बर वडाको ओखले आधारभूत विद्यालय शैक्षिक सत्र २०८२ देखि बन्द भएको हो ।
शैक्षिक सत्र २०८० मा १०२ जना र २०८१ मा ७२ जना विद्यार्थी भएको भानु माध्यमिक विद्यालयमा पछिल्लो केही वर्षयता विद्यार्थी संख्या निरन्तर घट्दै गएको छ । कक्षा १२ सम्मको पठनपाठन हुँदै आएको बेनी नगरपालिका–१ रत्नेचौरको भानु माविमा कक्षा ११ र बालकक्षासहित शैक्षिकसत्र २०८२ को विद्यार्थी संख्या ४८ जना छ भने कक्षा १ र ३ मा विद्यार्थी संख्या शून्य छ ।



कक्षा ४ सम्मको पठनपाठन हुने बेनी नगरपालिका–१ लामगरामा रहेको युुवावर्ष आधारभूत विद्यालयको २, ३ र ४ कक्षामा नयाँ शैक्षिकसत्र २०८२ मा भर्ना हुुन आउने विद्यार्थीको संख्या शून्य छ । चार शिक्षक र कर्मचारी भएको उक्त विद्यालयको बालकक्षामा चार र कक्षा १ मा तीन जना विद्यार्थी छन् ।
बेनी नगरपालिका–२ खबराको हंशबाहिनी आधारभूत विद्यालयमा शिक्षक, कर्मचारी र विद्यार्थीको संख्या बराबर छ । दुई जना दरबन्दीका शिक्षक, एक–एक जना बालविकास सहयोगी र कार्यालय सहयोगी रहेको विद्यालयमा विद्यार्थी संख्या चार छ । कक्षा ३ सम्म पठनपाठनको अनुमति पाएको विद्यालयको कक्षा २ मा एकजना पनि विद्यार्थी छैनन् ।
बाल कक्षामा दुई, कक्षा १ र ३ मा एक–एक जना विद्यार्थी छन् । सुविधायुक्त भवन, दरबन्दीअनुसार स्थायी शिक्षक, विज्ञान, कम्प्युटर प्रयोगशाला र पुस्तकालय भएका सदरमुकाम बेनीबजार आसपासका सामुदायिक विद्यालयमा विद्यार्थी संंख्या बर्सेनी घट्दो छ ।
जन्मदर घट्नु, बसाइँसराइ बढ्नु, सडक यातायातको सुविधासँगै निजी विद्यालयले गाउँगाउँमा गाडी पठाएर विद्यार्थी ओसार्नु, सामुदायिक विद्यालयले अभिभावकको विश्वास जित्न नसक्नु, निजी विद्यालय र अङ्ग्रेजी माध्यमप्रतिको मोह, सामुदायिक विद्यालयमा बढ्दो राजनीतिक हस्तक्षेप, शिक्षक जिम्मेवार नबन्नु र अगुवा तथा समाजको बेवास्ताका कारण सामुदायिक विद्यालय विद्यार्थीविहीन हुने अवस्था आएको छ ।
बेनी नगरपालिकामा ११ वटा संस्थागत र ५३ वटा सामुदायिक विद्यालय छन् । सदरमुकाम बेनीबजारमा रहेको प्रकाश माविमा सबैभन्दा बढी ७३२ जना विद्यार्थी छन् ।



