पोखरा — नेपाल कम्युनिष्ट पार्टी निकट मजदुर संगठन अखिल नेपाल ट्रेड युनियन महासंघ, गण्डकी समितिले सरकारी जग्गामा निर्माण गरिएको आफ्नो कार्यालय भवन सरकारलाई हस्तान्तरण गरेको छ। पोखरा–९ पृथ्वीचोकस्थित पोखरा उपत्यका नगर विकास समितिको पाँच रोपनी जग्गामा बनेको भवन शनिबार आयोजित कार्यक्रममा महासंघका अध्यक्ष रुद्र गौतमले पोखरा उपत्यका नगर विकास समितिका सभापति तथा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यलाई चाबी हस्तान्तरण गर्दै सरकारलाई बुझाएका हुन्।
पोखरा उपत्यका नगर विकास समितिले अतिक्रमित संरचना हटाउन ३५ दिने सूचना जारी गर्दै सरकारी जग्गामा बनेका संरचना खाली गर्न निर्देशन दिएको थियो। सोही सूचनाको अन्तिम समयमा महासंघले भवन तथा जग्गा खाली गरेर हस्तान्तरण गरेको हो। महासंघका अध्यक्ष गौतमले पक्की भवन भत्काउनुभन्दा सरकारी प्रयोजनका लागि उपयोग गर्नु उपयुक्त हुने भएकाले भवन हस्तान्तरण गरिएको बताए।



तत्कालीन नेकपा माओवादी शान्ति प्रक्रियामा आएपछि माओवादी निकट उक्त संगठनले सो जग्गा कब्जा गरी भवन निर्माण गरेको थियो। भवनलाई व्यावसायिक प्रयोजनमा प्रयोग गर्दै भाडासमेत उठाउँदै आएको जनाइएको छ। कार्यक्रममा बोल्दै पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले सरकारी जग्गा अतिक्रमण गरेर बसेका अन्य संरचनालाई पनि स्वेच्छाले खाली गर्न आग्रह गरे। बल प्रयोग गर्नुपर्ने अवस्था सिर्जना नगर्न उनले चेतावनी दिए।
उक्त क्षेत्रमा नेपाली कांग्रेस र नेकपा एमाले निकटका ट्रेड युनियनहरूले पनि सरकारी जग्गा अतिक्रमण गरी व्यावसायिक भवन निर्माण गरेका छन्। ती संरचना हालसम्म खाली गरिएको छैन भने त्यहाँ व्यवसाय सञ्चालन भइरहेको छ। महानगरपालिकाले पोखराको मध्यभाग भएर बग्ने फिर्केखोलाको खोलाघर खाली गर्न जेठ ९ गतेसम्मको म्याद दिएको छ। बसपार्क क्षेत्रमा रहेका सुकुम्बासीहरूको व्यवस्थापनका लागि काम भइरहेको महानगरले जनाएको छ।



