विराटनगर- सत्तारुढ नेपाली कांग्रेस र नेकपा एमालेसँग संसदको गतिरोध अन्त्य गर्ने सहमति गरेकै भोलिपल्ट नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ शनिबार बिहान विराटनगर आइपुगेका छन्। मोरङको उर्लाबारी र झापाको दमकमा हुने कार्यक्रममा सहभागी हुन उनी विराटनगर विमानस्थल हुँदै गएका थिए।
विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दा प्रचण्ड सामान्य अवस्थामा भन्दा केही तनावमा देखिएका थिए। उनको अनुहारमा अघिल्ला दिनको जस्तो चमक थिएन। उनले पत्रकारका प्रश्नहरूको पनि सामान्यजस्तो खुलेर जवाफ दिएनन्।
प्रतिनिधि सभा बैठकको अवरोध हटाउन माओवादी केन्द्रले शुक्रबार सत्तारुढ नेकपा एमाले र नेपाली कांग्रेससँग गरेको दुईबुँदे सहमतिपछि प्रचण्डमाथि विभिन्न टीकाटिप्पणी भइरहेका छन्। कतिपय नेताहरूका अनुसार यो सहमतिले प्रचण्डलाई आफ्नै पार्टीभित्र पनि दबाब परेको छ।



यद्यपि, प्रचण्डले आफ्नो निर्णयको बचाउ गर्दै भने, “जनताको बृहत् हितका निम्ति कहिले अघि बढ्ने, कहिले पछि हट्ने, कहिले सहमति गर्ने, कहिले चाहिँ विद्रोह गर्ने यो सबै चलिरहन्छ।”
शुक्रबार माओवादी केन्द्र सहमतिमा आएपछि सभामुख देवराज घिमिरेले अन्य विपक्षी दलहरूको असहमतिबीच प्रतिनिधि सभाको बैठक सञ्चालन गरेका थिए। माओवादी केन्द्रले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै सदन अवरुद्ध गरिरहेको थियो।
प्रचण्डले भिजिट भिसा प्रकरणमा एक महिनाभित्र समिति बनाएर छानबिन गर्ने सहमति भएपछि मात्र अहिले सदन सुचारु गर्न सहमति दिएको दाबी गरे। “अहिले हामीले संघीय निजामती ऐन छिटो भन्दा छिटो पारित गर्नु छ, लाखौँ शिक्षकहरूको मागलाई सम्बोधन गर्न शिक्षासम्बन्धी ऐनलाई अन्तिम रूप दिनुपर्ने छ, टीआरसी (सत्य निरुपण तथा मेलमिलाप आयोग) सँग सम्बन्धित कैयौँ विषय अगाडि बढाउनु पर्नेछ,” उनले भने, “त्यो सबैलाई हेरेर हामीले सहज बनाएका हौँ।”
उनले गृहमन्त्रीको संसद भित्रको भनाइप्रति आफूहरू जिम्मेवार नरहेको र छानबिनको माग यथावत रहेको बताए। भिजिट भिसा प्रकरण गम्भीर र सुशासनका लागि आवश्यक विषय भएकाले यसको गहिरो अध्ययन र छानबिन हुनुपर्नेमा उनले जोड दिए।
आफ्ना उपाध्यक्ष अग्नि सापकोटाविरुद्धको हत्या मुद्दा मिलाउने सर्तमा कांग्रेस-एमालेसँग सहमति गरेको भन्ने आरोपलाई प्रचण्डले “वाहियात” भन्दै खारेज गरे। उनले यस कुरामा अग्नि सापकोटाको कुनै साइनो सम्बन्ध नरहेको स्पष्ट पारे।



