काठमाडौं, माघ ६ – मङ्गलवारको प्रतिनिधिसभामा चीनको केरुङतर्फ लैजान लागेको २५ करोड अवैध रकमको मुद्दाले प्रवेश पाएको छ। यस विषयमा सत्तापक्ष र प्रतिपक्षका सांसदहरूले विशेष छानबिन समिति गठन गर्न माग गरेका छन्। नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले यसलाई नेपालको इतिहासमा सबैभन्दा ठूलो अवैध रकमको बरामदगीको घटना भएको भन्दै यसले सङ्गठित अपराध र तस्करीको जालो कसरी फैलिएको छ भन्ने कुरा पुष्टि गरेको बताएका छन्। उनले भने, यति ठूलो तस्करीमा माथिल्लो तहको संलग्नता बीन सम्भव छैन। यो घटनाको गम्भीर छानबिन गर्न आवश्यक छ।



सत्तारुढ दल नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले भने, यस घटनामा ड्राइभरलाई पक्राउ गरेर मात्रै कुरा टार्ने प्रवृत्ति देखिएको छ। यसले सरकारको कमजोरीलाई उजागर गरेको छ। उनले सरकारलाई तस्करहरूको वास्तविक संलग्नता पत्ता लगाउने जिम्मेवारी दिंदै भने, यदि अहिले पनि भरिया र ड्राइभरलाई मात्र समात्न सकियो भने सरकारको कार्यशैलीमा समस्या हुनेछ।
राप्रपा सांसद रोशन कार्कीले पनि तस्करीको विषयमा गम्भीर टिप्पणी गर्दै भनिन, यो घटनाले मुलुकमा तस्करी कति बढेको छ भन्ने कुरालाई प्रष्ट पार्दछ। उनले यस घटनामा छानबिन गरेर तस्करीको जडसम्म पुग्नुपर्ने आवश्यकता रहेको बताइन।
पक्राउ परेका व्यक्तिको पृष्ठभूमि
प्रहरीले यस घटनामा संलग्न एक जनालाई गत सोमबार राति २५ करोड अवैध रकमसहित पक्राउ गरेको थियो। पक्राउ गरिएको व्यक्ति यसअघि सुन तस्करीमा संलग्न रहेको र पाँच वर्ष जेल सजाय भोगेको पाइएको छ। यस घटनाले नेपालमा तस्करीको जटिलता र अवैध कारोबारको गम्भीरता झल्काउँछ।
नेपालमा अवैध व्यापार र तस्करीका घटनाहरू बढिरहेका छन्। यस घटनाले सरकारले अधिक प्रभावकारी अनुसन्धान र नियमन गर्नुपर्ने आवश्यकता औंल्याएको छ। सांसदहरूले गम्भीर छानबिन समिति गठन गरेर यस मुद्दाको पुरा अनुसन्धान गर्न सरकारलाई दबाब दिएका छन्।



