प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा बैठकमा गर्ने भनिएको विशेष सम्बोधन कार्यक्रम स्थगित गरिएको छ। प्रतिनिधि सभा सचिवालयका अनुसार आज दिउँसो १ बजेका लागि तय गरिएको सम्बोधन अर्को दिनका लागि सारिएको हो। सरकारको हालै एक वर्षे कार्यकाल पूरा भएको सन्दर्भमा प्रधानमन्त्री ओलीले संसद्‌मा विशेष सम्बोधन गर्ने तयारी गरिएको थियो। उक्त सम्बोधनमार्फत प्रधानमन्त्रीले सरकारका उपलब्धि, नीति(कार्यक्रमको प्रगति तथा आगामी योजनाबारे प्रतिवेदन प्रस्तुत गर्ने बताइएको थियो।

नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक महेश बर्तौलाले विशेष सम्बोधन कार्यक्रम स्थगित गरिएको पुष्टि गर्दै अब अर्को बैठकमा उक्त सम्बोधन गरिने जानकारी दिएका छन्। उनले भने, “कार्यक्रमलाई व्यवस्थापनजन्य कारणले स्थगित गरिएको हो, प्रश्नोत्तर कार्यक्रम भने निर्धारित समयमै सञ्चालन हुनेछ।”

संसदमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तरको कार्यक्रम नियमित प्रक्रिया अन्तर्गत जारी रहनेछ। यसमार्फत सांसदहरूले सरकारको नीति, निर्णय र कार्यसम्पादनबारे प्रत्यक्ष रूपमा प्रश्न गर्ने अवसर पाउँछन्। प्रधानमन्त्रीको विशेष सम्बोधन स्थगनले राजनीतिक वृत्तमा केही जिज्ञासा उत्पन्न गराएको छ भने केहीले यसलाई तयारी अपुगतासँग जोडेर हेरेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय