काठमाडौं । चीनको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ल्हासा पुग्नुभएको छ । चीनको दक्षिण पश्चिममा रहेको छोङ्छिङ सहरबाट सिचवन एयरलाइन्स मार्फत प्रधानमन्त्री दाहाल तिब्बत स्वायत्त क्षेत्रको राजधानी ल्हासा पुग्नुभएको हो ।
प्रधानमन्त्री दाहाललाई सिचाङ (तिब्बत) स्वायत्त क्षेत्रका सरकारी अधिकारीले ल्हासाको गोङ्गार विमानस्थलमा स्वागत गर्नुभयो । आज साँझ प्रधानमन्त्री दाहालसँग चिनियाँ कम्युनिस्ट पार्टी सिचाङ (तिब्बत) स्वायत्त क्षेत्रीय समितिका सचिव वाङ चङ्छङ्ले भेटवार्ता गर्नुहुने कार्यक्रम रहेको छ ।
चीनसँग सीमा जोडिएका नेपालका उत्तरी क्षेत्रका दुर्गम ग्रामीण क्षेत्रमा तिब्बतबाट विद्युत् वितरण गर्ने समझदारी बनेको सन्दर्भमा प्रधानमन्त्री दाहाल ल्हासा पुग्नुभएको हो । तिब्बतमा रहँदा प्रधानमन्त्री दाहालले कैलाश मानसरोवर (ताल) एवं कैलाश पर्वतको भ्रमण गर्ने पनि कार्यक्रम छ ।






