प्रधानमन्त्री पुष्पकमल दाहाल चार दिने औपचारिक भ्रमणका लागि भारतको नयाँ दिल्ली पुगेका छन् । बुधवार दिउँसो १ बजे नेपाल एयरलाइन्सको नियमित उडानबाट प्रधानमन्त्री दाहाल नेतृत्वको सरकारी प्रतिनिधि मण्डल भारत गएको हो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको औपचारिक निमन्त्रणामा दाहाल भारत गएका हुन् ।



भारत प्रस्थान गर्नुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रधानमन्त्री दाहाललाई सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना लगायत मन्त्रीहरूले बिदाई गरेका थिए । सो अवसरमा नेपाली सेनाले सलामी अर्पण गरेको थियो ।
प्रधानमन्त्री दाहालसहितका अतिथिहरुलाई भारत सरकारले होटल मौर्यमा बस्ने व्यवस्था मिलाएको छ । सोही होटलमा आज साँझ ६ बजे प्रधानमन्त्री दाहालसँग भारतीय विदेश सचिव विनयमोहन क्वात्रा र भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालले छुट्टाछुट्टै भेटवार्ता गर्ने कार्यक्रम छ ।
प्रधानमन्त्री दाहालले बिहीवार भारतीय समकक्षी नरेन्द्र मोदीसँग हैदरवाद हाउसमा दुई पक्षीय वार्ता गर्नेछन् । मन्त्रिपरिषद्को बैठकले स्वीकृत गरेको भ्रमण टोलीमा प्रधानमन्त्री दाहालसहित भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वाला, ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेत, परराष्ट्रमन्त्री नारायणप्रसाद साउद, अर्थमन्त्री डा. प्रकाशशरण महत, उद्योगमन्त्री रमेश रिजाल लगायत रहेका छन् ।
भारत भ्रमणका क्रममा विद्युत बिस्तार, विद्युतमा भारतीय लगानी प्रवद्र्धन, भारतसँग भएका सम्झौताहरुको कार्यान्वयन, सीमा विवाद, नाकाहरु सञ्चालन लगायतका बारेमा छलफल हुने कार्यक्रम रहेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको टोली जेठ २० गते स्वदेश फर्किने कार्यक्रम छ ।



