रवि लामिछाने ले प्रधानमन्त्री संसद्मा उपस्थित नहुँदा आफू कुनै दबाबमा नपरेको बताएका छन् । बिहीबार प्रतिनिधिसभा बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै उनले आफू दबाब र प्रभावमा नबस्ने व्यक्ति भएको स्पष्ट पारेका हुन् ।
सञ्चारकर्मीको प्रश्नमा उनले प्रधानमन्त्री संसद्मा नआएकै कारण आफू दबाबमा परेको भन्ने कुरा अस्वीकार गर्दै भने, “म त्यस्तो दबाबमा बस्ने मान्छे होइन, मलाई कुनै दबाब छैन।” उनले प्रक्रिया क्रमशः अगाडि बढ्ने र सरकारको कामकाजको परिणाम देखिँदै जाने बताए ।



लामिछानेले सरकारको कामप्रति जनतामा प्रश्न उठे आफूलाई भने दबाब हुने उल्लेख गर्दै सरकारको प्रदर्शन र परिणाम महत्वपूर्ण हुने बताए । उनले प्रधानमन्त्री आउने र संसद्मा जवाफ दिने विश्वाससमेत व्यक्त गरे ।त्यसैगरी उनले आफ्नो पार्टी राष्ट्रिय स्वतन्त्र पार्टी महाधिवेशनको तयारीमा रहेको उल्लेख गर्दै पार्टीलाई व्यवस्थित रूपमा अघि बढाउने तयारी भइरहेको जानकारी दिए ।



