काठमाडौं । बागमती प्रदेश उद्योग बाणिज्य भूमि तथा प्रशासन मन्त्री बिन्दु श्रेष्ठले सेवाग्राहीलाई प्रबिधि मैत्री सेवा प्रबाह गर्न जोड दिन निर्देशन दिनुभएको छ । काठमाडौं, ललितपुर र भक्तपुर उद्योग बाणिज्य कार्यालयको भ्रमण गर्नुहुँदै मन्त्री श्रेष्ठले सेवाग्राही प्रबिधि प्रति अभ्यस्त भैसकेकाले हामीले प्रबाह गर्ने सेवा पनि अब हाइटेक हुन आबश्यक रहेको उल्लेख गर्नुभयो ।
मन्त्री श्रेष्ठ कार्यालय भ्रमणको क्रममा सेवाग्राहीको अब्यबस्थित फाइलको सुरक्षा र ब्यबस्थापनमा बिशेष ध्यान दिन पनि निर्देशन दिनुभयो । उहाँले पुरातन शैलीबाट अब कार्यालय संचालन नहुने भन्दै आफु मातहतका सबै कार्यालय चाँडै प्रबिधिसँग जोडिने र मन्त्रालयले काम अघि बढाई सकेको समेत जानकारी दिनुभयो ।



काठमाडौं उद्योग बाणिज्य कार्यालयका प्रमुख यादब आचार्यले भौतिक संरचनाको अभावले कार्य सम्पादनमा कठिनाई भइरहेको जानकारी गराउनु भयो ।
यस्तै ललितपुर उद्योग बाणिज्य कार्यालयका प्रमुख सन्तोष मुक्त्तानले कार्यालयको गत आबको कार्य प्रगति र चालु आबको कार्य योजना प्रस्तुत गर्दै कर्मचारीको उमेर हद पुरा भैसकेकाले अबकासका लागि ध्यान केन्द्रित गर्न मन्त्री श्रेष्ठको ध्यानाकर्षण गराउनु भएको थियो ।
भक्तपुरको उद्योग वाणिज्य कार्यालय अनुगमनको क्रममा मन्त्री श्रेष्ठले कार्यालय प्रमुख रामप्रसाद कुस्मालाई कार्यालय परिसर भित्र कोशेली घर निर्माणको लागि प्रकृया थाल्न समेत निर्देशन दिनुभयो । उहाँले भक्तपुरको मौलिक उत्पादन र हस्तकला उत्कृष्ट रहेको भन्दै अबको कार्यदिशा यस्ता उद्योग र उद्योगी केन्द्रित हुनुपर्नेमा जोड दिनुभयो ।
अनुगमनको क्रममा प्रदेश सभा सदस्य प्रेम भक्त महर्जन, रघुनाथ महर्जन, सकुन्तला श्रेष्ठलगायतले जनताको काम जति सक्दो चाडो सम्पादन हुन सके मात्र प्रदेश प्रति जनताको बिश्वास बढ्ने बताउनु हुँदै उद्योग र उद्योगीको बिकास र बिस्तार गर्न आबश्यक नीति नियम सुधार उन्मुख रहेको उल्लेख गर्नुभयो ।



