


जिल्ला अदालत काभ्रेपलाञ्चोकबाट फरार सूचीमा रहेर पक्राउ पुर्जी जारी भएका खगेन्द्र सुनार जिल्ला अदालत काभ्रेमा उपस्थित भएका छन् ।
अदालतको अपहेलना र अधिवक्तालाई अपशब्द बोलेको आरोपमा विद्युतीय कारोबारको आरोप लागेका सुनार विहिबार विहान काभ्रेपलाञ्चोक जिल्ला अदालतमा उपस्थित भएको जिल्ला अदालत काभ्रेपलाञ्चोकका श्रेस्तेदार इन्दिरा कार्कीले जानकारी दिईन । उनका अनुसार अदालतमा उपस्थित भएका सुनारको बयानको काम भईरहेको र त्यसपछि थुनछेकको बहस हुनेछ । सुनारको न्यायाधीश नगेन्द्रकुमार कालाखेतीको इजलासमा बयान भईरहेको छ ।
अधिवक्ता मनीषा गौतमविरुद्ध अपशब्द प्रयोग गर्दै फेसबुक स्टाटस लेखेको, सामाजिक संजालमा लाईभ बसेर गालीगलोज गरेको आरोपमा गौतमले साइबर ब्यूरोमा उजूरी दिएकी थिइन । गौतमको स्थायी ठेगाना काभ्रेपलाञ्चोक भएकोले ब्यूरोले उक्त मुद्धालाई जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोक पठाएको थियो । अनुसन्धानका क्रममा सुनार फरार रहेकोकोले प्रहरीले फरार राखेर गत साउन २ गते अदालतमा मुद्दा पेश गरेको थियो । जिल्ला अदालतमा ८२ सालको श्रावणमा दोस्रो मुद्दाको रुपमा दर्ता भएको (८२ सी१–००२ नम्बर) को मुद्दा सरकारवादी फौजदारीको रुपमा दर्ता भएको थियो।
त्यसको तीन दिन पछाडि साउन ५ गते सुनारलाई पक्राउको लागि जिल्ला अदालतले सुनारको स्थायी ठेगाना भएको प्रहरी कार्यालय दैलेखमा पक्राउ गर्न पुर्जी जारी गरेको थियो । अदालतका श्रेस्तेदार कार्कीका अनुसार गत साउन ५ गते ७ दिन र ३५ दिन म्याद राखेर पक्राउ पुर्जी जारी गरेको थियो ।
हालसम्म परार सुचिमा रहेका सुनार विहिबार जिल्ला अदालत काभ्रेमा हाजिर भएका हुन । उनलाई जिल्ला प्रहरी कार्यालय काभ्रेले अनुसन्धानका क्रममा समय सीमाभित्र पक्राउ गर्न नसकेपछि पक्राउ बिना नै जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो। अदालतको अवहेलना सम्बन्धी मुद्दा भएको हुनाले अदालत आफैंले सुनार विरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।



