काठमाडौं । फलफूल खेती गर्ने तरिका सिक्न १४ जिल्लाका किसान मुस्ताङ पुगेका छन् । शीतोष्ण बागवानी विकास केन्द्रले मंगलबारदेखि सञ्चालन गरेको ‘नर्सरी धनीहरूलाई गुणस्तरीय विरुवा प्रशारण तथा नर्सरी व्यवस्थापन’ सम्बन्धी तीनदिने सिकाई कार्यक्रममा सहभागी हुन विभिन्न जिल्लाका १८ किसान पुगेका छन् ।

घरपझोङ–२ मार्फास्थित शीतोष्ण बागवानी विकास केन्द्र फलफूत तथा तरकारी उत्पादन तथा जिल्लाभित्र र बाहिरका किसानका लागि महत्वपूर्ण कृषि पाठशालाका रूपमा स्थापित हुँदै आएको छ । केन्द्रको आयोजनामा सहभागी किसानलाई कृषिसम्बन्धी सैद्धान्तिक तथा प्रयोगात्मक ज्ञान दिन थालिएको छ । केन्द्रले बर्सेनी जिल्ला बाहिर र जिल्लाभित्रका किसानको प्रतिनिधित्व रहनेगरी यसप्रकारको फूलफूल तथा नर्सरी व्यवस्थापनसम्बन्धी अभ्यास तालिम सञ्चालन गर्ने गरेको केन्द्रका प्रमुख पद्मनाथ आत्रेयले जानकारी दिनुभयो । यस वर्ष पनि पूर्वको संखुवासभादेखि सुदूरपश्चिमको दार्चुलासम्मका किसान सहभागी छन् । म्याग्दीबाट ३, बाग्लुङबाट २, सल्यानबाट २ र धादिङ, बझाङ, दैलेख, कालिकोट, दार्चुला, नुवाकोट, उदयपुर, रुकुमपश्चिम, गोरखा, संखुवासभा र रसुवाका १–१ जना किसान तालिममा सहभागी छन् ।

गुणस्तरीय विरुवा उत्पादन तथा नर्सरी व्यवस्थापनसम्बन्धी सिकाई तालिम र प्रशारणका विविधिकरणका बारेमा सहभागीलाई जानकारी गराइनेछ । साथै किसानलाई केन्द्रमा अवस्थित विभिन्न फलफूल तथा तरकारी बगैंचा ब्लकको अवलोकन गराइने छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय